खोटाङ, ३ भदौ । जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख एवम् नेकपा (एमाले) खोटाङका जिल्ला सचिवालय समिति सदस्य शङ्खरबहादुर राई सडक दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएको छ । इटहरीबाट मोटरसाइकल चढेर बिराटनगरतर्फ जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको माइक्रो भ्यानले बिहीबार बेलुका ठक्कर दिँदा पूर्वप्रमुख राई गम्भीर घाइते हुनुभएको हो ।
मोटरसाइकलको पछाडि बसेको अवस्थामा पछाडिबाट आएको माइक्रोको ठक्करबाट उछिट्टिएर सडकमा पछारिनुभएका राईको टाउकोको देब्रेपट्टीको भित्री भागमा गम्भीर चोट लागेको जनाइएको छ । गम्भीर घाइतेको राईको अहिले बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन् ।
दुर्घटनापछि बिहीबार राति टाउकाको शल्यक्रीया गरिएका राईलाई अहिले भेन्टीलेटरमा राखेर थप उपचार गर्ने काम भइरहेको जनाइएको छ । दुर्घटनास्थलमै बेहोस बन्नुभएका राईको अवस्था चिन्ताजनक रहेको र आफन्त तथा नेताहरु भेट गर्न गइरहेको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालले जानकारी दिनुभयो ।
घाइते राईलाई भेट्न एमाले पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेताहरु विराटनगर पुग्नुभएको छ । “शङ्खर जीको अवस्था चिन्ताजनक देखियो”, भेटपछि प्रमुख सचेतक भट्टराईले टेलिफोनमा भन्नुभयो, “स्वास्थ्यकर्मीको भनाइ अनुसार उहाँको अवस्था यसै भन्न सकिने अवस्था छैन ।”
राई सवार मोटरसाइकल चालक युवा सङ्घ जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष चासुमहाङ राई पनि घाइते हुनुभएको जनाइएको छ । देब्रे पातामा चोट लागेका चासुमहाङको अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।
दुर्घटनालगत्तै माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । तीव्रगतिमा पछाडिबाट आएको माइक्रोले ठक्कर दिँदा मोटरसाइकल र घाइते राईद्धय दुर्घटनास्थलबाट करिब ५० मिटर पर उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पूर्वप्रमुख राई २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । जन्तेढुङ्गा गाउँपालिका–६ धिप्लुङमा २०३० सालमा जन्मनुभएका राईको दुई श्रीमती तथा तीन छोरी र दुई छोरा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।