एकीकृत समाजवादी खोटाङद्धारा प्रतिनिधिसभा सदस्यमा मन्त्री राईको नाम सिफारिस

Halesi Khabar
0 Shares

खोटाङ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोलिटब्यूरो सदस्य राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर–४ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार, १ नं. प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहनुभएका पोलिटब्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा समानुपातिक सदस्यमा जिल्ला अध्यक्ष जलसेर राई र सचिवालय सदस्य सँगीता राईको नाम सिफारिस गरिएको युवा सङ्घ खोटाङका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बीरबलकाजी राई, प्रदेश सदस्य उदयबहादुर कार्की, प्रदेश सदस्य भीम राई (बुइपा), जिल्ला सचिव राजन आचार्य, युवा सङ्घको केन्द्रीय सचिवालय सदस्य भीम राई (बाम्राङ), प्रदेश सदस्य विष्णु दाहाल, समन्वय परिषदको प्रदेश सदस्य तेजबहादुर राई र समानुपातिकमा केन्द्रीय सदस्य रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बबि चाम्लिङ, प्रदेश सदस्य श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । यद्यपि, सत्तागठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच केन्द्रमा सिट बाँडफाँडको टुङ्गो लाग्न बाँकी छ ।

जिल्लाका अन्य राजनीतिक दलले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरुको विषयमा अहिलेसम्म छलफलसमेत गरेका छैनन् । तथापि, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट वर्तमान प्रतिनिधिसभा सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्य एवम् पूर्व सामाजिक विकासमन्त्री उषाकला राई, केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेश पौडेलको नाम चर्चामा छ ।

प्रदेशसभा ‘क’मा संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, केन्द्रीय सदस्य खगेन्द्र, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले, प्रदेश सदस्य देवान राई, जिल्ला उपाध्यक्ष देवबिक्रम राई लगायतका नेताहरुको दाबी छ । प्रदेशसभा ‘ख’मा भने, जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल निर्विकल्प उम्मेदवार रहेको समाचार स्रोतले जनाएको छ ।

जिल्लाबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरुको नामावली भदौ–२२ गतेभन्दा अगाडि बैठक बसेर टुङ्ग्याइने जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभयो । जिल्लामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षी धेरै देखिए पनि सहमतिको आधारमा टुङ्गो लगाइने एमालेले जनाएको छ ।

उता, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)मा प्रतिनिधिसभा सदस्यका लागि धेरै आकाङ्क्षी देखिएका छन् । काँग्रेसमा पूर्वराज्यमन्त्री सर्वधन राई, केन्द्रीय सरस्वती बजिमय, युवा नेता सुवाशकुमार पोखरेल लगायतका नेताहरु देखिएका छन् ।

प्रदेशसभा ‘क’मा जिल्ला उपसभापति ईवन राई, जिल्ला सदस्य धर्मराज पोखरेल, प्रदेश सदस्य जीतेन्द्रसिं ठकुरी लगायतका नेताहरुको दाबी छ । प्रदेशसभा ‘ख’ १ नं. प्रदेशका महामन्त्री भूपेन्द्र राई, प्रदेश सदस्य लोकेन्द्र राई, जिल्ला सभापति विष्णुकुमार राई लगायतको नाम चर्चामा छ ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको विषयमा यही भदौ–१७ गते जिल्ला कार्यसमितिको बैठक बसेर टुङ्ग्याइने जिल्ला सभापति राईले जानकारी दिनुभयो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारको नामावली जिल्ला कार्यसमितिको बैठकले टुङ्ग्याएपछि भदौ–१८ गते प्रदेशमा सिफारिस हुने जनाइएको छ ।

माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई लगायतका नेताको दाबी छ ।

प्रदेशसभा ‘क’मा प्रदेश सदस्य जीवन राई ‘सँगीन’, टङ्क तामाङ ‘मदन’, सुरेश राई, मनकुमारी रसाइली ‘रस्मी’ लगायतका नेताको नाम चर्चामा छ । प्रदेशसभा ’ख’मा वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’, जिल्ला संयोजक आकाश पाण्डे ‘दीपक’ लगायतका नेताहरुको दाबी छ ।

यद्यपि, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका विषयमा तल्लो तहसम्म छलफल चलाएर सुझाव सङ्कलन गर्ने काम भइरहेको माओवादी केन्द्रले जनाएको छ । जिल्लाका अन्य साना दलहरुले पनि अहिलेसम्म उम्मेदवार टुङ्ग्याएको छैन ।

तपाईको प्रतिक्रिया