अशोक राईको नाम प्रतिनिधिसभा सदस्यका लागि खोटाङबाट सिफारिस

Halesi Khabar
0 Shares

खोटाङ, १३ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङले आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्घीय परिषद अध्यक्ष अशोक राईको नाम सिफारिस गरेको छ । जसपा जिल्ला समन्वय समिति खोटाङको भदौ–११ र १२ गते भएको बैठकले अध्यक्ष राईको नाम सिफारिस गरेको हो ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी स्थायी घर भएका अध्यक्ष राई खोटाङबाट दुई पटक सांसद बन्नुभएको थियो । वि.सं. २०४८ सालको आम निर्वाचनमा खोटाङ क्षेत्र नं. ३ र २०५१ सालमा भएको मध्यावधिक निर्वाचनमा खोटाङ क्षेत्र नं. २ बाट नेकपा (एमाले)बाट सांसदमा निर्वाचित हुनुभएको हो ।

तत्कालीन मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा यायातमन्त्रीसमेत हुनुभएका अध्यक्ष राई वि.सं. २०५४ साल फागुनमा बामदेव गौतमको नेतृत्वमा गठित नेकपा (माले)मा लाग्नुभएको थियो । वि.सं. २०५६ सालमा सम्पन्न आम निर्वाचनमा पार्टी पराजित भएपछि पुनः एमालेमा समाहित हुनुभएका अध्यक्ष राईले वि.सं. २०६९ सालमा एमाले विभाजन गरेर सङ्घीय समाजवादी गठन गर्नुभएको थियो ।

सङ्घीय परिषद अध्यक्ष राईसँगै राजनीतिक समिति सदस्य डा. कृष्णकुमार राईको नामसमेत सिफारिस गरिएको जसपा खोटाङले जनाएको छ । समानुपातिकमा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, राजनीतिक समिति सदस्य देवराज राई, केन्द्रीय सदस्य तेजमायाँ राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राई र जिल्ला समन्वय समिति सचिव सुनिल चाम्लिङको नाम सिफारिस गरेको छ ।

प्रदेश (क) मा प्रत्यक्षमा सङ्घीय परिषद सदस्य राकेश राई, प्रदेश समिति सदस्य नवीन राई, सङ्घीय परिसद सदस्य विवेक राई, केन्द्रीय समाजवादी युवा अध्यक्ष हेमन्त राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय सदस्य तेजमायाँ राई, जिल्ला समिति उपाध्यष नैनबहादुर कटवाल, जिल्ला सल्लाहकार समिति सदस्य बच्चु राई, सल्लाहकार अध्यक्ष कमानसिं राई, जिल्ला सदस्य झुमा पोखरेलको नाम राखिएको छ ।

प्रदेश (ख) प्रत्यक्षमा राजनीतिक समिति सदस्य देवराज राई र किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राईको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकमा राजनीतिक समिति सदस्य रमेश राई, जिल्ला सदस्य लालबहादुर राई, जिल्ला कोषाध्यक्ष नैनकला राई, विद्यार्थी केन्द्रीय सदस्य रवीन खम्बु र जिल्ला सदस्य चक्रप्रसाद फुयालको नाम परेको छ ।

यसैबीच, जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापाले पार्टी छाडेपछि पिके खम्बुको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ । भदौ ११ र १२ गते भएको बैठकले यसअघि थापा नेतृत्वको समितिमा उपाध्यक्ष रहनुभएका खम्बुलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

८७ सदस्यीय जिल्ला समन्वय समितिको उपाध्यक्षहरुमा नैनबहादुर कटवाल, निर्मल राई, मैयाँ राई सचिवमा सुनिल चाम्लिङ, उपसचिवहरुमा टीकाराम राई, विरेन्द्र दर्नाल, आशिष राई, कोषाध्यक्षमा नैनकला राई रहनुभएको छ । यसै विषयलाई लिएर जिल्ला समन्वय समिति सदस्य एवम् प्रचार विभाग प्रमुख रविन खम्बु लगायत १७ जना नेता तथा कार्यकर्ताले सामूहिक रुपमा पदबाट राजीनामा दिएका छन् ।

पार्टी विधान बिपरित १ नं. प्रदेश समितिका मुख्य सचिव प्रभुराम श्रेष्ठले गठन गरेको समितिको कुनै पनि जिम्मेवारीमा आफूहरु नरहने विज्ञप्तिमार्फत जनाएका छन् । सामूहिक राजीनामा दिएका नेताहरुले छुट्टै भेला गर्ने तयारी गरिरहेका छन् ।

उता, जसपा परित्याग गरेका अध्यक्ष थापासहितका नेताहरु नेकपा (माओवादी केन्द्र)मा समाहित भइसकेका छन् । जिल्ला अध्यक्ष थापा, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपककुमार तामाङ लगायतका नेताहरु माओवादीमा समाहित भएका हुन् ।

 

तपाईको प्रतिक्रिया