खोटाङ, १९ भदौ । आगामी मङ्सिर–४ गते देशभर एकैसाथ हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै खोटाङमा चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई जना सांसद निर्वाचित हुने जिल्लामा अहिले साना÷ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ ।
सत्तारुढ दल नेपाली काँग्रेस खोटाङबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि ४२ जना नेताहरुको नाम सिफारिस भएको छ । पूर्वराज्यमन्त्रीदेखि पूर्ववडाध्यक्षसम्मले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने उद्देश्यले आ–आफ्नो नाम जिल्ला कार्यसमितिमार्फत सिफारिस गराएका छन् ।
प्रतिनिधिसभाकाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री सर्वधन राईसहित दशजनाको नाम सिफारिस भएको काँग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । काँग्रेसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा. राजकुमार राई, रामप्रसाद आचार्य ‘आर.पि.’, विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम प्रतिनिधिसभा सदस्यका लागि केन्द्रमा सिफारिस गरेको हो ।
यस्तै, समानुपातिक कोटामा महिलातर्फ सरस्वती बजिमय र शान्ति राई, समानुपातिक खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको सिफारिस गरिएको छ ।
प्रदेशसभा (क)बाट प्रत्यक्षमा नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैँजुलाई सिफारिस गरेको छ । यसैगरी, समानुपातिकमा रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हीराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको काँग्रेसले जनाएको छ ।
प्रदेशसभा (ख)बाट प्रत्यक्षतर्फ जिल्ला सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको जनाइएको छ । यस्तै, समानुपातिकको खुला पुरुषबाट शहरमान राई, महिलातर्फ कमला राई तथा अन्यमा इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दीपराज राई, प्रतिक्षा राई, कान्ता केसी (बस्नेत), ध्रुवकला राई, सपना राई, निर्मला राई र राजु ढकालको सिफारिस गरिएको काँग्रेसले जनाएको छ ।
उता, नेकपा (एमाले) खोटाङले प्रदेशसभा (ख)का लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालको एकमात्र नाम सर्वसहमत सिफारिस गर्ने निर्णय गरेको छ । एमाले खोटाङको पाँचौँ जिल्ला भेलामा प्रदेखसभा (ख)का लागि अन्य नेताहरुको दाबी नरहेकाले जिल्ला अध्यक्ष दङ्गालकोमात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभएको छ ।
समानुपातिकमा प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरु चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामायाँ राई तथा जिल्ला सदस्य भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ । प्रदेशसभा (क)मा जिल्ला उपाध्यक्ष देवबिक्रम राई, प्रदेश समिति सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिशा खनालको दाबी रहेको जनाइएको छ ।
प्रदेशसभा (क)मा आकाङ्क्षी धेरै देखिएपनि सहमतिमा एकजनाकोमात्र नाम सिफारिस हुने सचिव आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सदस्यहरु पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको दाबी रहेको जनाइएको छ ।
यद्यपि, प्रतिनिधिसभा सदस्यका लागि सहमति गरेर एकजनाकोमात्र नाम सिफारिस गर्नेगरी छलफल भइरहेको एमाले खोटाङले जनाएको छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छनोट गर्न दिक्तेलमा आयोजना गरिएको एमालेको बैठक जारी छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) खोटाङको बैठक भोलि भदौ–२० गते बस्ने तयारी गरिएको प्रदेश सदस्य एवम् सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिनुभयो । माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई लगायतका नेताको दाबी छ ।
प्रदेशसभा (क)मा प्रदेश सदस्य जीवन राई ‘सँगीन’, टङ्क तामाङ ‘मदन’, सुरेश राई, मनकुमारी रसाइली ‘रस्मी’ लगायतका नेताको नाम चर्चामा छ । प्रदेशसभा (ख)मा वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’, जिल्ला संयोजक आकाश पाण्डे ‘दीपक’ लगायतका नेताहरुको दाबी छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङले आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्घीय परिषद अध्यक्ष अशोक राईको नाम सिफारिस गरेको छ । जसपा जिल्ला समन्वय समिति खोटाङको भदौ–११ र १२ गते भएको बैठकले अध्यक्ष राईको नाम सिफारिस गरेको हो ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी स्थायी घर भएका अध्यक्ष राई खोटाङबाट दुई पटक सांसद बन्नुभएको थियो । वि.सं. २०४८ सालको आम निर्वाचनमा खोटाङ क्षेत्र नं. ३ र २०५१ सालमा भएको मध्यावधिक निर्वाचनमा खोटाङ क्षेत्र नं. २ बाट नेकपा (एमाले)बाट सांसदमा निर्वाचित हुनुभएको हो ।
तत्कालीन मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा यायातमन्त्रीसमेत हुनुभएका अध्यक्ष राई वि.सं. २०५४ साल फागुनमा बामदेव गौतमको नेतृत्वमा गठित नेकपा (माले)मा लाग्नुभएको थियो । वि.सं. २०५६ सालमा सम्पन्न आम निर्वाचनमा पार्टी पराजित भएपछि पुनः एमालेमा समाहित हुनुभएका अध्यक्ष राईले वि.सं. २०६९ सालमा एमाले विभाजन गरेर सङ्घीय समाजवादी गठन गर्नुभएको थियो ।
सङ्घीय परिषद अध्यक्ष राईसँगै राजनीतिक समिति सदस्य डा. कृष्णकुमार राईको नामसमेत सिफारिस गरिएको जसपा खोटाङका अध्यक्ष पिके खम्बुले जानकारी दिनुभयो । समानुपातिकमा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, राजनीतिक समिति सदस्य देवराज राई, केन्द्रीय सदस्य तेजमायाँ राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राई र जिल्ला समन्वय समिति सचिव सुनिल चाम्लिङको नाम सिफारिस गरेको छ ।
प्रदेश (क) मा प्रत्यक्षमा सङ्घीय परिषद सदस्य राकेश राई, प्रदेश समिति सदस्य नवीन राई, सङ्घीय परिषद सदस्य विवेक राई, केन्द्रीय समाजवादी युवा अध्यक्ष हेमन्त राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय सदस्य तेजमायाँ राई, जिल्ला समिति उपाध्यष नैनबहादुर कटवाल, जिल्ला सल्लाहकार समिति सदस्य बच्चु राई, सल्लाहकार अध्यक्ष कमानसिं राई, जिल्ला सदस्य झुमा पोखरेलको नाम राखिएको छ ।
प्रदेश (ख) प्रत्यक्षमा राजनीतिक समिति सदस्य देवराज राई र किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राईको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकमा राजनीतिक समिति सदस्य रमेश राई, जिल्ला सदस्य लालबहादुर राई, जिल्ला कोषाध्यक्ष नैनकला राई, विद्यार्थी केन्द्रीय सदस्य रवीन खम्बु र जिल्ला सदस्य चक्रप्रसाद फुयालको नाम परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोलिटब्यूरो सदस्य राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर–४ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार, १ नं. प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहनुभएका पोलिटब्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा समानुपातिक सदस्यमा जिल्ला अध्यक्ष जलसेर राई र सचिवालय सदस्य सँगीता राईको नाम सिफारिस गरिएको युवा सङ्घ खोटाङका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य वीरबलकाजी राई, प्रदेश सदस्य उदयबहादुर कार्की, प्रदेश सदस्य भीम राई (बुइपा), जिल्ला सचिव राजन आचार्य, युवा सङ्घको केन्द्रीय सचिवालय सदस्य भीम राई (बाम्राङ), प्रदेश सदस्य विष्णु दाहाल, समन्वय परिषदको प्रदेश सदस्य तेजबहादुर राई र समानुपातिकमा केन्द्रीय सदस्य रमिला गुरुङको नाम सिफारिस भएको छ ।
प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बबि चाम्लिङ, प्रदेश सदस्य श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गरिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो । जिल्लाबाट आ–आफ्नो दलको तर्फबाट उम्मेदवार सिफारिस भएपनि सत्तागठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच केन्द्रमा सिट बाँडफाँडको टुङ्गो लागेको छैन ।
जिल्लाका अन्य साना दलहरुले पनि आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको नाम सिफारिस गर्नेक्रम जारी छ । दश स्थानीय तह रहेको जिल्लाका प्रदेश तथा प्रतिनिधिसभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेका एक्लै र सत्तारुढ चार राजनीतिक दलका साझा उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।