खोटाङ, २१ भदौ । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) खोटाङले प्रत्यक्षमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवम् पूर्वसांसद टङ्क राईसहित चारजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले अनुशासन आयोगका अध्यक्ष राईसँगै पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, पोलिटब्यूरो सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राईको नाम सिफारिस गरेको हो ।
समानुपातिकतर्फ प्रदेश समिति सदस्य टङ्कनाथ तामाङ ‘मदन’ र जिल्ला सदस्य परशुराम विश्वकर्माको नाम सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ प्रदेश समिति सदस्यहरु जीवन राई ‘सँगिन’, हस्तबहादुर राई ‘आमोद’, विकास राई र सीताराम अधिकारी ‘भूमि’लाई सिफारिस गरेको छ ।
समानुपातिकतर्फ केन्द्रीय सल्लाहकार समिति सदस्य जयप्रसाद आचार्य, प्रदेश सदस्य मनकुमारी रसाइली ‘रश्मी’, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष अगमसिंह राई, प्रदेश बिभाग सदस्यहरु बन्दना तामाङ र ज्ञानबहादुर भुजेल तथा प्रदेश समिति सदस्य जयप्रकाश राईको नाम सिफारिस भएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको आयोजनामा प्रदेश समिति सदस्य र सोभन्दा माथिल्लो जिम्मेवारीमा रहनुभएका नेताहरुको उपस्थितिमा सोमबार र मङ्गलबार बसेको बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।
प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’ र जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’को नाम सिफारिस गरिएको माओवादीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । समानुपातिकतर्फ प्रदेश समिति सदस्यहरु निशाना राई, कल्पना चाम्लिङ ‘सोनीया’ र बिनिता राई ‘सुशील’, केन्द्रीय बिभाग सदस्यहरु डा. विष्णु राई र नवल खड्का, १ नं. प्रदेश समितिका सल्लाहकार नरेन्द्र निर्विकार, खोटाङ–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष गजेन्द्र राई र साकेला गाउँ पार्टी समितिका सचिवालय सदस्य सुमिना राईको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईजना सांसद निर्वाचित हुने खोटाङ जिल्लाबाट नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै आकाङ्क्षीहरुको नामावली सिफारिस गरिरहेका छन् । यद्यपि, सत्ता गठबन्धनमा आवद्ध जिल्लास्थित चार राजनीतिक दलले आ–आफ्नो पार्टीबाट सिफारिस भएपनि केन्द्रबाट भएको सिट बाँफाँडको आधारमा चुनाव लड्ने सहमति गरेका छन् ।