पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने कराँते प्रशिक्षक तामाङको घोषणा

Halesi Khabar
0 Shares

खोटाङ, २२ भदौ । सितोरियो कराँते खोटाङका प्रमुख प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे घर भएका कराँते प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो कराँतेतर्फको प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

प्रदेशस्तरीय प्रतिष्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही रु २५ हजार ५५५, रु १५ हजार ५५५ र रु ११ हजार १११ प्रदान गर्ने घोषणा गर्नुभएको छ । सितोरियो कराँते खेलाडीको मनोबल बढाउन र खेलक्षेत्रको प्रर्वद्धनका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको तामाङले बताउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय प्रतियोगितामा सितोरियो कराँतेतर्फ जिल्लाका २९ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । सितोरियो कराँते खेलको प्रतिष्पर्धा भदौ–३० गतेदेखि असोज–२ गतेसम्म धरानमा सञ्चालन गर्ने तयारी छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता भने पोखरामा आगामी असोज–२८ गतेदेखि कातिक–३ गतेसम्म सञ्चालन हुने छन् । एसियन कराँते महासङ्घले सन् २०१६ मा भारतको नयाँ दिल्लीमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय रेफ्री परीक्षामा तामाङले अन्तर्राष्ट्रिय रेफ्री परीक्षा उत्तिर्ण गर्नुभएको हो ।

तामाङ जिल्ला खेलकुद विकास समिति खोटाङको कराँतेतर्फका प्रमुख प्रशिक्षक हुनुहुन्छ । स्वयम्सेवक प्रशिक्षकको भूमिका निर्वाह गर्दै कराँते खेलको प्रवद्र्धनमा लाग्नुभएका तामाङले वि.सं. २०५२ साल भदौमा राष्ट्रिय खेलकुद परिषदबाट स्थायीरुपमा सहायक प्रशिक्षकको नियुक्ती पाउनुभएको हो ।

प्रशिक्षकको २० वर्षे र २५ वर्षे सेवा पुरा गरेकामा तामाङले दीर्घसेवा पदकसमेत प्राप्त गरिसक्नुभएको छ । वि.सं. २०४८ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता खेल्नुभएका तामाङले दर्जनौँ पदकहरु जित्नुभएको छ ।

यसैबीच, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङका १५८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रदेशस्तरीय खेलकुद प्रतियोगिता यही भदौ–२४ गतेदेखि असोज–८ गतेसम्म पूर्वका विभिन्न जिल्लामा सञ्चालन हुँदैछन् ।

प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा खोटाङबाट चौध खेलका लागि १५८ जना खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी १८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा चार, तेक्वान्दोमा २२, सितोरियो कराँतेमा २९, टेबलटेनिसमा चार, फुटबलमा ३२, ब्याडमिन्टनमा सात, भारोत्तलनमा दुई, उसुमा दश जना खेलाडी छनोट भएका छन् ।

यस्तै, बक्सिङमा तीन, पौडीमा दुई, शारीरिक सुगठनमा एक र सफ्ट टेनिसमा दुई खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दश विद्याका खेलाडीले सहभागी जनाएको खोटाङमा यो वर्ष शारीकि सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिस थपिएको प्रमुख केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया