बाम्राङले उचाल्यो समता फुटबल प्रतियोगिताको उपाधि

Halesi Khabar
0 Shares

खोटाङ, १ असोज । दिक्तेलमा सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लब बाम्राङले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साकेला फुटबल क्लब साकेला गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै बाम्राङले उपाधि आफ्नो पक्षमा बनाएको हो ।

प्रथम उपाधि विजेता बाम्राङले रु ५१ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला फुटबल क्लबले नगद रु २७ हजार ७७७ र तेस्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद रु १२ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा हलेसी तुवाचुङले युवा जागरण क्लब दिक्तेललाई २–१ गोल अन्तरले पराजीत गरेको थियो । खेल अवधिभरको सर्वाधिक गोलकर्ता बाम्राङका हरि खवास भएका छन् ।

यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट गोलरक्षक, साकेलाकै रामसुर राई उत्कृष्ट डिफेन्डर, साकेलाकै प्रसान्त राई उत्कृष्ट फरर्वाड र बाम्राङका सुजन खवास उत्कृष्ट मिड फिल्डर चुनिएका छन् । उनीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक समता फुटबल क्लबका सचिव सुमन हिङ्माङले जानकारी दिनुभयो ।

गत भदौ–२५ गतेबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १७ समूहले सहभागिता जनाएका थिए । प्रथम पुरस्कारको प्रायोजन नेकपा एमालेका नेता दीपक ठटाल र नेकपा (माओवादी केन्द्र)का नेता मिलन चाहारले गर्नुभएको थियो ।

दोस्रो पुरस्कारको प्रायोजन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष महेन्द्र राई र तेस्रो पुरस्कारको प्रयोजन ग्लोबल वरियन्स नेपालले गरेको आयोजकले जनाएको छ । एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको प्रतियोगिता जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले समापन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया