खोटाङ, ४ असोज । दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन नगरपालिकामा डेङ्गुका बिरामी देखा पर्न थालेपछि नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान शुरु गरेको हो ।
स्वास्थ्य कार्यालयको समन्वयमा नगरपालिकाको स्वास्थ्य शाखाले मङ्गलबार दिक्तेलबजारमा ¥यालीसहित होटल तथा पसलका भाँडाकुँडा र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ । जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख मोहन राउतले बताउनुभयो ।
डेङ्गु नियन्त्रणका लागि क्रमशः सङ्क्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेङ्गु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जनाइएको छ । गत भदौ–१४ गते यता जिल्लामा डेङ्गुका बिरमी देखिन थालेको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा हलसम्म २५ जनालाई डेङ्गु पुष्टी भइसकेको जिल्ला अस्पतालले जनाएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै कम्तिमा १८ जनालाई डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।
जिल्लामा डेङ्गुको सङ्क्रमण तीव्रगतिमा वृद्धि भइरहेकाले लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न जिल्लाबासीलाई आग्रह गरिएको छ । डेङ्गु पुष्टि भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांशपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने लगायत लक्षण देखिने जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नितू लामाले जानकारी दिनुभयो ।