शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै

Halesi Khabar
0 Shares

साकेला/सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाई पारदर्शी रुपमा लाभग्राही स्वयमले मात्र भत्ता रकम प्राप्त गराउने अभियान थालेको साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष 2079/080 को पहिलो त्रैमासिक रकम शिविर मार्फत वितरण सुरु गरेको छ ।
देशभरीको स्थानीय तहहरु मध्ये सबैभन्दा अगाडी नै भत्ता रकम निकासा गर्ने गरेको गाउँपालिकाले यो वर्ष पनि समयमै भत्ता रकम निकासा गरेको हो । अशक्त अवस्थाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरु बैंकसम्म पुगेर भत्ता रकम बुझ्न नसक्ने भएपछि गाउँपालिका र नेपाल एसबिआई बैंकको समन्वयमा शिविर मार्फत भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।
हामीले अशक्त अवस्थाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सहजताको लागि शिविर सञ्चालन गरेका हौं, अध्यक्ष राईले भन्नुभयो वार्षिक रुपमा तीन पटक वडा-वडाबाट बैंङ्किङ सेवा मार्फत भत्ता वितरण गरिनेछ ।
गत मंगलबार वडा नम्बर ५ स्थित वडा कार्यालयबाट सुरु भएको बैंङ्किङ प्रणाली भुक्तानी शिविर कार्यक्रमको दोश्रो दिन १ नम्बर वडा कार्यालय बाँझेच्यानडाँडामा सम्पन्न गरिएको छ ।
बाँझेच्यानडाँडामा वितरण गरिएको भुक्तानी शिविरमा 82 जना लाभग्राहीहरुले सेवा लिएका छन् । अशक्त तथा वृद्ध अवस्थाका 82 जना लाभग्राहीको लागि १२ लाख ९२ हजार रकम वितरण गरिएको छ ।
गत मंगलबार वडा नम्बर ५ का ९० जना लाभग्राहीलाई १३ लाख रुपैंया बढी रकम भुक्तानी गरिएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि गाउँपालिकाले आ.व. 2077/078 को दोश्रो चौमासिकदेखि नै बैंङ्किङ प्रणाली मार्फत भत्ता वितरण थालेको थियो । बैंङ्किङ प्रणाली मार्फत भत्ता वितरण गर्दा सम्बन्धित लाभग्राहीहरुले मात्र भत्ता प्राप्त गर्न थालेपछि लाभग्राहीहरु हर्षित बनेका छन् ।

तपाईको प्रतिक्रिया