खोटाङ, ११ असोज । साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा ४८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा गाउँपालिकाले वृद्ध अवस्थाका जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैङ्कसम्म जान नसक्ने ४८३ जना लाभग्राहीलाई उनीहरुको गाउँटोलमै लगेर रु ६६ लाख ७२ हजार ३०० रकम वितरण गरेको हो ।
शिविरमा उपस्थित हुन नसक्ने अन्य लाभग्राहीले भने एसबिआई बैङ्कको साकेला शाखा र देशभर सञ्चालनमा रहेको जुनसुकै शाखाबाट भत्ता रकम बुझ्ने व्यवस्था गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । गाउँपालिकाले हिन्दु नेपालीहरुको महान चाड दशैँ÷तिहार तथा छट पर्वको अवसर पारेर गत असोज–४ गतेदेखि ११ गते सम्म भुक्तानी शिविर सञ्चालन गरेको हो ।
असोज–४ गते वडा नं. ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई रु १२ लाख ४९ हजार रकम भुक्तानी गरिएको जनाइएको छ । असोज–५ गते वडा नं.–१ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीको लागि रु १२ लाख ९२ हजार, असोज–६ गते वडा नं. १ डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ जना लाभग्राहीको लागि रु दश लाख २५ हजार रकम वितरण गरिएको छ ।
असोज–७ गते वडा नं.–२ रतन्छामा सञ्चालन गरिएको शिविरबाट ११० जना लाभग्राहीले रु १४ लाख ९२ हजार रकम भुक्तानी लिएका छन् भने, असोज–९ गते वडा नं.–४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीले रु आठ लाख ९८ हजार र असोज–११ गते वडा नं.–३ खिदिमामा सञ्चालन गरिएको शिविरमा ६४ जना लाभग्राहीले रु आठ लाख ४५ हजार रकम भुक्तानी लिएका छन् ।
शिविरमा बैङ्कका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बु र गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । चालु आर्थिक वर्ष २०७९÷०८० का लागि गाउँपालिकामा रु एक करोड २३ लाख छ हजार ३३० भत्ता रकम निकासा गरिएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको सेवालाई मध्यनजर गर्दै गाउँपालिका र बैङ्कको सहकार्यमा वर्षको तीन पटक वडा–वडामा भुक्तानी शिविर सञ्चालन गर्ने गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो । साकेला गाउँपालिकामा सबै प्रकारका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या चालु आर्थिक वर्ष एक हजार ३१५ जना कायम रहेका छन् ।
नेपाल सरकारले ६८ वर्ष पुरा गरेका जेष्ठ नागरिकको लागि प्रति महिना रु चार हजार, ६० वर्ष उमेर पुगेका दलित, ६० वर्ष उमेर पुरा भएका एकल महिला तथा विधवालाई रु दुई हजार ६६० दरले सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ । पूर्ण अपाङ्गता भएका व्यक्तिको लागि रु तीन हजार ९९०, अति अशक्त अपाङ्गता भएका नागरिकले रु दुई हजार १२८, लोपोन्मुख अवस्थाका आदिवासी जनजातिको लागि रु तीन हजार ९९० र दलित तथा क्षेत्र तोकिएका पाँच वर्ष मुनिका बालबालिकालाई रु ५३२ का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।
सरकारद्धारा प्रदान गरिने सामाजिक सुरक्षाभत्ता रकम वर्षको चार पटक प्रत्येक ३÷३ महिनामा बैङ्कमार्फत वितरण हुने गरेको छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैङ्कको साकेला शाखाबाट भत्ता रकम वितरण गर्दै आइएको छ ।
जिल्लाकै सबैभन्दा थोरै पाँच वडामात्र रहेको उक्त गाउँपालिकामा कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा व्यापक अनियमितता भएको गुनासो आएपछि बैङ्कमार्फत वितरण शुरु गरिएको हो । साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छानबिन शुरु गरेको छ ।
यद्यपि, अख्तियारले अहिलेसम्म छानबिन प्रतिवेदन बुझाएको छैन । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर कर्मचारीहरुले वर्षौँदेखि रकम बुझ्दै आएको जानकारी पाएपछि सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको जानकारी बाहिरिएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा उक्त गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितता रोक्ने प्रयास शुरु गरेपछि अन्य स्थानीय तहले पनि पहल थालेको छ । जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो पायक पर्ने ठाउँमा सञ्चालित बैङ्कसँग परामर्श गरेर सम्झौता गर्नेक्रम धमाधम भइरहेको छ ।