खोटाङ, १२ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित चुप्लाका ४७ घर स्थानीय बासिन्दाको घरघरमा खानेपानीको धारा उपलब्ध गराइएको छ । प्रदेश सरकार, १ नं. प्रदेश खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको रु ४३ लाख लागतमा सञ्चालित खानेपानी योजनाबाट हरेक घरमा ‘एक घर, एक धारा’ सञ्चालन भएपछि चुप्लाबासी लाभान्वित भएका छन् ।
लामो समयदेखि व्यवस्थित खानेपानीको अभाव झेल्दै आएका चुप्लाका स्थानीय बासिन्दालाई लक्षित गर्दै प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८÷०७९ मा रु ३० लाख र चालु आर्थिक वर्ष रु १३ लाख बजेट विनियोजन भएको थियो । सात किलोमिटर टाढा रहेको माल्टे मुहानबाट पाइपमार्फत चुप्लामा खानेपानी ल्याइएको हो ।
वि.सं. २०५२ सालमा सञ्चालन भएको खानेपानी योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ उपलब्ध गराउनेगरी प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ खानेपानी योजना सञ्चालन गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । “पुरानो योजनाको पाइप विभिन्न ठाउँमा टुटफुट भएकाले चुप्लामा लामो समयदेखि खानेपानीको समस्या जटिल बनेको थियो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानीको नयाँ योजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।”
चुप्लामा सञ्चालित खानेपानी योजनाका लागि दश हजार लिटर क्षमताको दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरेर गाउँमा वितरण गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताउनुभयो । पिउने पानीको अभाव रहेको चुप्लाका स्थानीय बासिन्दाको हरेक घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा आएपछि स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
चुप्लामा सञ्चालित खानेपानी योजना मङ्गलबार १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिकरुपमा खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभएको छ । खानेपानी योजना उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले हरेक नागरिकलाई सहजरुपमा स्वच्छ र सफा खानेपानी प्रयाप्तमात्रामा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष रु १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट रु सात लाख बजेट विनियोजन भएको छ । दुबै योजनाको काम चाँडै अगाडि बढाउने तयारीस्वरुप उपभोक्ता समितिले काम अगाडि बढाएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) खोटाङका युवा नेता युगशन किरातले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयबाट ७४ वटा नयाँ योजनाका लागि रु आठ करोड २६ लाख ९० हजार बजेट आएको छ । प्रदेशबाट आएको योजनाका लागि उपभोक्ता समितिसँग सम्झौता गरेर निर्माणको काम शुरु गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङका सब–इन्जिनियर रामकुमार राईले जानकारी दिनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा प्रदेश सरकारको ५५ वटा योजना क्रमागत रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित अधिकांश योजना अन्तिम चरणमा पुगेको जनाइएको छ ।