खोटाङ, १३ असोज । चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठुला दर्जनौ घाँसे मैदान । प्राकृतिकरुपले मनोरम देखिने मयुङको फाँट तथा मैदानहरुमा चौरी, घोडा, गाईगोरु तथा हजारौँ भेडाहरु चरिरहेका भेटिन्छन् । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ ।
बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृष्य सजिलै देख्न सकिने ठाउँहरु रहेको पर्यटकीयस्थल मयुङ समुन्द्री सतहदेखि तीन हजार ३३३ मिटर उचाइमा पर्दछ । मयुङबाट सर्वोच्च शिखर सगरमाथा, महालङ्गुर हिमाल, अरुण उपत्यका, मेरापिक, मकालु तथा बरुण राष्ट्रिय निकुञ्ज लगायत तराईका फाँटहरुको दृष्य देख्न सकिन्छ ।
झण्डै तीन हजार रोपनी क्षेत्रफल जमिनमा फैलिएको मयुङमा डाँफे, मुनाल, कालिज, चखेवा, मलेवा, ढुकुर, जुरेली लगायत विभिन्न प्रजातिका चराचुरुङ्गी तथा गिद्धहरु, लोपोन्मुख जनावर रेड पाण्डा, बाघ, कालो भालु, चितुवा, मृग, हरिन, घोरल, थार, खरायो लगायतका वन्यजन्तुहरुसमेत प्रत्यक्ष देख्न पाइन्छ । पशुपालनका लागि उपयुक्त घाँसेमैदान तथा प्रयाप्त मात्रामा पानीको स्रोतसमेत रहेको पर्यटकीयस्थल मयुङमा दर्जनौँ चौरीगोठ तथा गाईगोठ, उत्तिकै सङ्ख्यामा भेडीचोकहरु रहेका छन् भने, करिब २०० को हाराहारीमा घर पालुवा घोडा चर्ने गरेका छन् ।
सिजन (मौषम)अनुसार विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुल्ने मयुङमा लाली गुराँस, चिमाल, रानीचाँप, घोगेचाँप, ढाप्ले, हिरिङ्गी लगायत विभिन्न प्रजातिका फूलहरु पाइन्छन् । बाह्रै महिना एउटै रङ (निलो) पानी देखिने हाँसपोखरीका साथै आसपासमा ताराखसेपोखरी, सुकेपोखरी, बाहुनपोखरी लगायत साना÷ठूलागरी दर्जनौँ पोखरीहरु रहेको मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँसहरु आउने गर्छन् ।
हरेक नयाँ वर्षको दिन ठूलो मेला लाग्ने मयुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु चरणमा रहेका घोडा चढेर विभिन्न ठाउँ डुल्न तथा भेडाको पाठापाठीसँग खेल्न अधिक रुचाउने गरेका छन् । तीन दिनसम्म लाग्ने मेलामा खोटाङको विभिन्न स्थानीय तह, छिमेकी जिल्लाहरु भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, सुनसरीको बिराटनगर, धरान लगायतका स्थानीय बासिन्दासमेत मयुङ आउने गरेका छन् ।
प्राकृतिकरुपले मनोरम एवम् हरियाली देखिने मयुङ आसपास अन्य विभिन्न मनोरम दृष्य अवलोकन गर्न सकिने डाँडाहरुसमेत रहेका छन् । मयुङ नजिक रहेका चिलिमढुङ्गा, लौरेथुम, रावाधाप, जलजले, घ्याङखर्क, रमितेडाँडा लगायत डुल्न र अन्य पर्यटकीय ठाउँको दृष्य अवलोकन गर्न सकिने ठाउँहरु हुन् ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको मयुङमा बिखुमा, पाखनभेद, पदमचाल, भैरुङपाती, रानीतोहो, लोठसल्ला, पाँचऔले, चिराइतो लगायत बहुमुल्य जडीबुटी पाइन्छ । मयुङमा पाइने जडीबुटी जिल्ला बाहिर निकासी गर्न सकेमा जिल्लाको आर्थिक उन्नतिमा सघाउ पुग्ने फेदीका स्थानीय बासिन्दा एवम् युवा व्यवसायी धनकुमार राईले बताउनुभयो ।
खोटाङ, भोजपुर र सङ्खुवासभाको सिमानामा पर्ने सालपा पोखरी जाने बाटोमा पर्ने मयुङमा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मयुङ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सुविधायुक्त आवासको व्यवस्था गर्न सकेमा जिल्लालाई ठूलो मात्रामा आर्थिक आम्दानी हुने अनुमान गरिएको छ ।
मयुङमा पाइने घोडा चढेर घोडाटार, साउनेडाँडा, जोगीमारा, बतासे, नागी, मात्तिम, भुवानपोखरी, जलजलेपोखरी, ढुङ्गाखर्क, नौँलाखर्क लगायतका रमणीय ठाउँहरु डुल्न सकिने फेदीका स्थानीय बासिन्दा ज्ञानकुमार राईले जानकारी दिनुभयो । “पर्यटनको यत्तिका सम्भावना हुँदाहुँदै पनि मयुङको विकासमा राज्यको ध्यान पुग्न सकेको छैन” उहाँले भन्नुभयो, “मयुङ लगायत आसपासको क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न सकेमा जिल्लाको मात्र नभइ १ नं. प्रदेशकै आर्थिक विकासमा सघाउ पुग्छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
पुस–माघमा हिउँ खेल्ने, चैत–वैशाखमा लालीगुराँस, चिमाल चाँप फुलेको हेर्न, असार–साउन र भदौमा चौरी, भेडा, घोडा र गाईगोरुको बथान हेर्न तथा असोज–कातिकमा हिमाली श्रृङ्खला एवम् टाढा–टाढाको दृष्यावलोकन गर्न पर्यटकहरु मयुङ पुग्ने गरेका छन् । मयुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले त्यहाँ पाइने चौरीको घ्यू, छुर्पी लगायत दूधजन्य पदार्थहरु खरिद गरेर लैजाने गरेका छन् ।
मयुङको हावापानी पर्यटकका लागि राम्रो रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको भर्खरै मन्धुम ट्रेल (पदमार्ग) हुँदै मयुङ पुगेर फर्कनुभएका नेकपा (माओवादी केन्द्र) खोटाङका युवा नेता मिलन राईले बताउनुभयो । “पर्यटकीयस्थल मयुङ पुग्ने जो कोहीलाई त्यहाँको दृष्य देख्दा स्वर्गको एउटा टुक्रा हो जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “प्राकृतिकरुपले भरिपूर्ण पर्यटकीयस्थल मयुङको प्रवद्र्धन एवम् प्रचारप्रसार जोड दिन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
पर्यटकीयस्थल मयुङ घुम्नका लागि यो सिजन उपयुक्त मयुङमा भेनिुभएका भेडापालक फेदीका लक्ष्मी साम्पाङ ‘समिप’ले बताउनुभयो । “मयुङ घुम्नका लागि यो सिजन (मौषम) उपयुक्त मानिन्छ । अहिले मयुङमा घुम्न दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “मयुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएपछि ठाउँठाउँमा व्यवस्थितरुपमा गोठस्टे (गोठमा बास बस्ने ठाउँ)हरुकोसमेत व्यवस्था गरिएको छ ।”
आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि मयुङमा एउटा गोठमा २० जनासम्म बास बस्न मिल्नेगरी गोठस्टे सञ्चालन गरिएको जनाइएको छ । गोठस्टेमा एक छाक मासुसँग खाना खाँदा रु ५०० तिनुपर्ने भेडापालक साम्पाङले जानकारी दिनुभएको छ ।
गोठस्टेमा चौरी, गाई तथा भेडाको दूध दुहुन तथा भेडाको साँढ काटेर खान पाइने व्यवस्था मिलाइएको छ । आफ्नै बन्दोबस्तीका साथ मयुङ पुगेका पर्यटकहरु गोठस्टेमा बस्ने, खाने तथा सुत्नेसम्मको व्यवस्था भएपछि मख्ख पर्ने गरेका छन् ।
पर्यटकलाई लक्षित गरेर मयुङकै दिल्पा भन्ने ठाउँमा भोजपुरका एक व्यवसायीले होमस्टे (घरबास)समेत सञ्चालन गरेका छन् । मयुङ घुम्न आउने पर्यटकका लागि उक्त होमस्टेले धान्ने अवस्था नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
मयुङसँगै गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको विकास एवम् प्रवद्र्धनका लागि गाउँपालिकाबाट बजेटसमेत विनियोजन गरिएको केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईले बताउनुभयो । “गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुमध्ये मयुङ प्रमुख गन्तव्य हो”, उहाँले भन्नुभयो, “यसको समग्र विकासका लागि गाउँपालिका एक्लैको प्रयासले सम्भव छैन । यसका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायतसँग समन्वय गर्ने काम भइरहेको छ ।”
नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलले समेत मयुङमा पर्यटकको सङ्ख्या वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् । चखेवाभञ्ज्याबाट शुरु भएको मुन्धुम ट्रेल धोत्रे, जलजले, मानेडाँडा, मात्तिम, दिल्पा, ढुङ्गागाखर्क, घोडेटार, फोक्से, सातदोबाटोपोखरी, बलौटेभञ्ज्याङ, ह्याकुले, हर्कटे, जग्गे, गुराँसे, घोप्टे, लौरे, रावाढाप, हाँडीपोखरी, निकास, देउराली हुँदै सालपा सिलिचुङ पुगेको छ ।
तस्वीर सौजन्य : लक्ष्मण साम्पाङ ‘समिप’