खोटाङ, १५ असोज । खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेश्रो सँस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । वि.सं. २०६९ साल जेठ–१ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका छात्र अनुप राईको स्मृतिमा आगामी पुस–१८ गतेदेखि २४ गतेसम्म गोल्डकपको तेस्रो सँस्करण आयोजना गरिएको हो ।
दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः क्रमशः रु दुई लाख एक हजार १११ र रु एक लाख एक हजार १११ नगदका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दुई सेमीफाइनलिष्ट दुई टोलीले नगद रु २५÷२५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको मूल आयोजक समिति संयोजक सागर जोशीले बताउनुभयो ।
यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टोली प्रशिक्षकले नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अनुशासित टोलीले नगद रु पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।
मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद रु सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद रु दुई हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु २४ लाख ५२ हजार ६५२ खर्च लाग्ने अनुमान गरिएको सह–संयोजक सगुन ताम्राकारले बताउनुभयो ।
वि.सं. २०७३ चैत–२३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ वैशाख–२६ गतेदेखि ३१ गतेसम्म दोस्रो सँस्करण आयोजना गरिएको थियो । पहिलो र दोस्रो सँस्करण प्रत्येक वर्ष गरिए पनि विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ का कारण तेस्रो सँस्करण लम्बिएको हो ।
अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दुर्घटनामा ज्यान गुमाएका छात्र अनुपको सम्झना र खेल र खेलाडीको व्यवसायिक विकासका लागि गोल्डकपको अवधारणा अघि सारिएको आयोजकले जनाएको छ ।