खोटाङ, १७ असोज । गत चैतदेखि अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालन भएको छैन । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका ग्रामीण सडक वर्षा नरोकिएका कारण सञ्चालनमा ल्याउन नसकिएको हो ।
ग्रामीण सडक सञ्चालन नहुँदा दशैँ, तिहार तथा छट मान्न गाउँ फर्किएका जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ । वर्षदिनपछि आउने चाड दशैँ, तिहार तथा छट पर्व मनाउन राजधानी काठमाडौँ लगायत तराईका विभिन्न ठाउँबाट गाडी चढेर जिल्ला आएकाहरु ग्रामीण सडकमा यातायात नचल्दा दिक्तेलबाट करिब छ÷सात घण्टासम्म पैदल हिड्न बाध्य भएका छन् ।
सडकमा जमेको हिलो र खाल्डाखुल्डीका कारण पैदल यात्रा गर्नसमेत समस्या रहेको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीयवासी एवम् नेकपा (माओवादी केन्द्र) खोटाङका युवा नेता लक्ष्मण साम्पाङ ‘समिप’ले बताउनुभयो । “ग्रामीण सडकमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यो जिल्लाले समाधान गर्न सक्ने अवस्था छैन । सम्बन्धित निकायले सम्बन्धित ठाउँमा पहल गर्नुप¥यो । हैन भने हरेक वर्ष यस्तै अवस्था हुने निश्चित छ ।”
रोजगारी, अध्ययन तथा विभिन्न पेशा÷व्यवसाय लगायत विभिन्न सेवा÷सुविधाका लागि जिल्ला बाहिर बसेका स्थानीय बासिन्दाहरु चाड मान्न सवारी साधनमार्फत दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिरहेका छन् । सार्वजनिक यातायातको टिकट नपाउने जिल्लाका कतिपय स्थानीयवासी चर्को मूल्य तिरेर रिर्जभ गाडीमा आइरहेका छन् ।
ठेक्का लागेको सडकमा ठेकेदारको लापरबाही र अन्यमा स्थानीय तहले चासो नदिँदा समस्या भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले बताउनुभयो । “चाड मान्न आउने अधिकांश यात्रुले मालसामान लिएर आएका हुन्छन् । ग्रामीण सडक सञ्चालन नहुँदा उनीहरुलाई गन्तव्यमा पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “यातायातका साधन ग्रामीण सडकमा नभएपछि उनीहरु पैदल हिँडेर गन्तव्यतर्फ जाने गरेका छन् । यसप्रति सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।”
गाडी चढेर चाड मान्न आएका जिल्लावासी दिक्तेलबाट पैदल हिँड्नु परेपछि जनप्रतिनिधिहरुप्रति आक्रोशित बन्ने गरेका छन् । चाड÷पर्व आउनुअघि नै जिल्लाका सबै ग्रामीण सडक मर्मत गर्न जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरिएपनि सम्भव नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताउनुभएको छ ।
कालोपत्र गर्नेगरी ठेक्का लागेको दिक्तेल–जालपा–ऐसेलुखर्क र दिक्तेल–अस्पतालचोक–लफ्याङ सडक ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा छन् । कालोपत्रका लागि फराकिलो बनाउनेक्रममा ठेकेदारले पारेको खाल्डाखुल्डी पार्नुका साथै निर्माण सामग्री जथाभावी थुपार्दा दुवै सडकमा यातायातका साधन चल्न सकेको छैन ।
मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पाको छेपेखोले र कालीखोलामा पहिरो गएका कारण दिक्तेल–भोजपुर पनि यातायात सेवा भरपर्दो नरहेको यातायात व्यवसायीले बताएका छन् । दिक्तेल–बाक्सिला, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवाघाट लगायतका सडक छ महिनादेखि पूर्ण अवरुद्ध छन् ।
चाड÷पर्वको समयमा समेत अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउने बारे कसैको ध्यान नगएको यातायात व्यवसायीको आरोप छ । जिल्लाका ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि यातायात व्यवसायीसमेत मारमा परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत असारमा नगरका सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी मर्मत गरेपनि असफल भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाले हरेक वडामा रु दशदेखि १५ लाखसम्म खर्च गरेर मर्मत गरेपनि सडकको अवस्था उस्तै रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रत्येक वडामा जेसिबी पठाइए पनि वर्षा नरोकिएपछि सम्भव नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले बताउनुभयो । “अवरुद्ध सडक खुलाउन पन्ध्र दिनअघिदेखि नै नगरपालिकाको जेसिबी वडावडामा पठाएका छौँ । तर, वर्षा नरोकिएपछि मर्मत गरिएका सडकमा समेत यातायात सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “वर्षा रोकिनासाथ नगरभित्र पर्ने सबै ग्रामीण सडक सञ्चालनमा ल्याउँछौँ । वर्षेनी अवरुद्ध हुँदै आएको ग्रामीण सडक बाह्रै महिना सञ्चालनमा ल्याउन नगरपालिकाले पहल थालेको छ ।”
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । कालोपत्रको काम सम्पन्न गरेर सडक बिभागलाई हस्तान्तरण गर्नुपर्ने समय बितेको लामो समयसम्म पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण उक्त दिक्तेल–गाईघाट सडक अहिले अलपत्र अवस्थामा छ ।
मध्यपहाडी लोकमार्गको दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक खण्डमामात्र अहिले नियमित यातायात सञ्चालन हुँदै आएको छ । पन्ध्र वर्षदेखि यातायात सञ्चालन हुँदै आएको जिल्लामा साना तथा ठुलागरी करिब ३०० यात्रुबाहक सवारी साधन सञ्चालित छन् । तस्वीर सौजन्य : सिर्जना निरौला