धितुङका अग्नीपीडित सार्की परिवारलाई विभिन्न निकायको राहत

Halesi Khabar
0 Shares

खोटाङ, १८ असोज । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङका अग्नीपीडित दुई घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । सोमबार दिउँसो लागेको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि बिचल्लीमा परेका स्थानीय राजन सार्की र उनका छोरा सन्तोष सार्कीको परिवारलाई विभिन्न निकायबाट सङ्कलित राहत मङ्गलबार उपलब्ध गराइएको हो ।

अग्नीपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद रु १५ हजार, खोटाङ उद्योग बाणिज्य सङ्घ र खोटाङ यातायात प्रा.लि.ले रु दश÷दश हजार नगद तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले दुई थान त्रिपाल, आठवटा कम्बल, दुईवटा बाल्टिन, दुई परिकारका लागि आवश्यक भाँडावर्तन, चार थान साडी तथा पाइन्ट र कुर्तासुरुवालको कपडा प्रदान गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई र रेडक्रसका जिल्ला सभापति ज्ञानेन्द्र जोशीले घटनास्थल पुगेर संयुक्तरुपमा राहत वितरण गर्नुभएको हो ।

अग्नीपीडित परिवारका लागि राहत वितरण गर्न जिल्ला प्रशासन र रेडक्रसको टोली घटनास्थलमै पुगेको थियो भने, खोटाङ यातायात प्रा.लि.ले प्रमुख जिल्ला अधिकारीमार्फत र उद्योग बाणिज्य सङ्घले रेडक्रसमार्फत राहत रकम पठाएका थियो । राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक श्याम रावत, वडाध्यक्ष टेकराज राई लगायतको उपस्थिति रहेको थियो ।

अग्नीपीडित दुवै परिवारलाई जस्तापाताको व्यवस्थापन नगरपालिकाले गरिदिने र आवास निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने नगरप्रमुख राईले आश्वसन दिनुभएको छ । अग्नीपीडित परिवारलाई वडाले तत्कालै महिनादिन पुग्ने खाद्यान्न र भाडाकुडाको व्यवस्थापन गरेपनि बासबस्ने ठाउँ अभाव भएपछि आफन्तको घरमा राखिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

बुबाछोराको घर नजिकै रहेको गोठबाट शुरु भएको आगोले दुई घर र गोठसहित दुईवटा पशुचौपाया जलेर नष्ट भएको थियो । आगलागीमा एक तोला सुन, ६० केजी चामल, ७५ हजार वरावरको भाडावर्तन, ५० हजार बराबरको लत्ताकपडा, एक मुरी मकै, तीन मुरी कोदो, दश हजार बराबरको एक थान सोलार प्यानल, एउटा गाई र एउटा सुँगुर जलेर नष्ट हुँदा रु ११ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

नमूना भञ्ज्याङमा भएको आगलागी दशैँ मान्न घर आएका युवाले तत्कालै नियन्त्रणमा लिएका कारण छिमेकी गाउँमा थप क्षति हुन नपाएको स्थानीय गणेश कार्कीले जानकारी दिनुभयो । वर्षदिनमा एक पटक आउने हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वको समयमा आलगागी हुँदा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि सार्की परिवार बिचल्लीमा परेका छन् ।

तपाईको प्रतिक्रिया