प्रतिनिधिसभा र प्रदेशसभाका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता

Halesi Khabar
0 Shares

खोटाङ, २३ असोज । आगामी मङ्सिर–४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौँ तथा प्रदेशसभा ‘क’मा नौँ र प्रदेशसभा ‘ख’मा छजनाको उम्मेदवारी दर्ता भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेशका मन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा नेपाली काँग्रेसका १ नं. प्रदेशका महामन्त्री भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउन सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दलका साझा उम्मेदवारहरु कार्यकर्ता तथा साँस्कृत झाँकीसहितको ¥याली लिएर दिउँसो तीन बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । स्थानीय तहको निर्वाचनमासमेत चुनावी तालमेल गरेको तीन राजनीतिक दलका उम्मेदवारहरु उत्साहित देखिएका थिए ।

यसैबीच, तीन दलीय गठबन्धनका उम्मेदवारबिरुद्ध काँग्रेसले नै बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै काँग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा ‘क’मा सुवासकुमार पोखरेल र धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

उता, नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा प्रदेश सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा ‘ख’मा जिल्ला अध्यक्ष रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवारहरु कार्यकर्ता तथा साँस्कृतिक झाँकीसहितको ¥याली लिएर मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुग्नुभएको थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई ‘केके’ तथा प्रदेशसभा ‘क’का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा ‘ख’का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रमा नेकपा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

प्रदेशसभा ‘क’ र प्रदेशसभा ‘ख’का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ । सडक दुर्घटनामा ज्यान गुमाउनुभएका पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको छोरा सर्जुलाई सहानुभुतिको मत आउने राप्रपाको अनुमान छ ।

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ‘क’मा केशव राई र प्रदेशसभा ‘ख’मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ‘क’मा प्रयाग राई र प्रदेशसभा ‘ख’मा विमला राईले उम्मेदवारी दिनुभएको छ ।

आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राईले प्रदेशसभा ‘ख’मा उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवाशबाबु पुरीले जानकारी दिनुभयो । यस्तै, प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई र सर्वधन राई तथा प्रदेशसभा ‘ख’का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया