बागी उम्मेदवारी दिने काँग्रेस नेता धर्मराज पोखरेलको साधारण सदस्यता खारेज

Halesi Khabar
0 Shares

खोटाङ, २६ असोज । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनबिरुद्ध खोटाङ प्रदेशसभा ‘क’मा बागी उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका धर्मराज पोखरेल कारबाहीमा पर्नुभएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुसार असोज–२६ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएपछि पोखरेल काँग्रेसबाट स्वतः निलम्बित हुनुभएको हो ।

काँग्रेसले सार्वजननिक गरेको निर्देशन अनुसार पार्टीको निर्णय बिना बाम–लोकतान्त्रिक गठबन्धनबिरुद्ध बागी उम्मेदवारी दिनुभएका पोखरेलले फिर्ता नलिएपछि कारबाहीमा पर्नुभएको काँग्रेसका प्रदेश नं. १ का महामन्त्री भूपेन्द्रकुमार राईले जानकारी दिनुभयो । “पार्टीको विधान अनुसार धर्मराज पोखरेल आजबाट स्वतः कारबाहीमा पर्नुभयो”, बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘ख’का उम्मेदवारसमेत रहनुभएका राईले भन्नुभयो, “अब उहाँ काँग्रेस रहनुभएन । पार्टीको निर्देशन बिपरित जाने बित्तिकै उहाँ स्वतः स्वतन्त्र हुनुभयो । कुनै कारबाही गरिरहनुपर्दैन ।”

सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दलले खोटाङ काँग्रेसलाई टिकट बागबण्डामा अन्याय गरेको भन्दै पोखरेलले गठबन्धनकै बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको थियो । काँग्रेसको विधान अनुसार बागी उम्मेदवार दिएका र उनको प्रस्तावक तथा समर्थक बसेकालाई समेत आगामी पाँच वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था उल्लेख छ ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभा ‘क’मा पोखरेलको बागी उम्मेदवारी कायम रहेपछि चुनावी गठबन्धन गरेका राजनीतिक दलमा आशङ्का पैदा भएको छ ।

यसैगरी, बाम–लोकतान्त्रिक गठबन्धनबिरुद्ध बागी उम्मेदवारी दर्ता गर्नुभएका प्रतिनिधिसभाको उम्मेदवार पूर्वराज्यमन्त्री सर्वधन राई र प्रदेशसभा ‘क’ का उम्मेदवार सुवास पोखरेलले आ–आफ्नो उम्मेदवारी फिर्ता लिँदै गठबन्धनलाई सहयोग गर्ने बताएका छन् । यसअघि काँग्रेसले आसोज–२५ गते नै एक विज्ञप्ति जारी गर्दै बागी उमेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे स्वतः कारबाही हुने जनाएको थियो ।

सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेशका खानेपानी मन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा ‘क’मा १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा नेपाली काँग्रेसका १ नं. प्रदेशका महामन्त्री भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उता, नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा प्रदेश सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा ‘ख’मा जिल्ला अध्यक्ष रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईजना सांसदका लागि निर्वाचन हुने जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई ‘केके’ तथा प्रदेशसभा ‘क’का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा ‘ख’का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रमा नेकपा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

प्रदेशसभा ‘क’ र प्रदेशसभा ‘ख’का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ । सडक दुर्घटनामा ज्यान गुमाउनुभएका पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको छोरा सर्जुलाई सहानुभुतिको मत आउने राप्रपाको अनुमान छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ‘क’मा केशव राई र प्रदेशसभा ‘ख’मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ‘क’मा प्रयाग राई र प्रदेशसभा ‘ख’मा विमला राईले उम्मेदवारी दिनुभएको छ ।

आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राईले प्रदेशसभा ‘ख’मा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई तथा प्रदेशसभा ‘ख’का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा आठ÷आठ तथा प्रदेशसभा ‘ख’मा छ जनागरी २६ जना नेताको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो । उम्मेदवारी कायम रहेका नेताहरुलाई चुनाव चिन्हसमेत वितरण गरिएको मुख्य निर्वाचन अधिकृत पुरीले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया