खोटाङ, २७ असोज । जिल्ला प्रहरी कार्यालय खोटाङले ६७ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँचजना प्रहरी कर्मचारी र दुईजना सर्वसाधारणले रक्तदान गरेका छन् । प्रहरीले आयोजना गरेको कार्यक्रममा सङ्कलन गरिएको रगत रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) दिक्तेलमा राखिएको छ ।
जिल्लामा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकाले दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । “रक्तदान गर्नु सबैभन्दा परोपकारी कार्य हो”, उहाँले भन्नुभयो, “प्रहरी पनि समाजको अभिन्न अङ्ग भएकाले ६७ औँ प्रहरी दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।”
रक्त सङ्कलन केन्द्रमा राखिएका रगत आवश्यक पर्ने बिरामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क पाउने व्यवस्था मिलाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा बिरामीलाई आवश्यक परेको खण्डमा निःशुल्क रगत उपलब्ध गराउने गरिएको हो ।
पन्ध्र वडा रहेको नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा जिल्लाका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघिसम्म एक पिन रगतको (३०० एमएल) रु ९५० लिने गरिएको थियो ।
दिक्तेलस्थित जिल्ला अस्पतालमा सञ्चालन गरिएको ब्लड बैङ्कमा १२० पिन रगत सङ्कलन गर्न सक्ने क्षमता रहेको छ । नगरपालिकाको सहयोगमा स्थापना गरिएको ब्लड बैङ्कमा अघिल्लो वर्ष १०६ पिन रगत सङ्कलन भएको थियो ।
जसमध्ये जिल्लामा ७१ पिन रगत प्रयोग भएको थियो भने, ३५ पिन रगत सुनसरीस्थित धरान र भक्तपुरमा पठाइएको रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो । खोटाङका बिरामीलाई धरान, बिराटनगर र काठमाडौँ लगायतका ठाउँहरुमा रगतको आवश्यकता परेको खण्डमा रेडक्रस खोटाङलाई सम्पर्क गरेमा सजिलै रगत प्राप्त हुने मन्त्री बजिमयले बताउनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा विभिन्न सङ्घसङ्गठनले रक्तदान कार्यक्रमहरु आयोजना गर्दै आएको छ । रक्त सङ्कलन केन्द्र स्थापना हुनुअघि जिल्लामा आवश्यक पर्ने रगतका लागि नेपाली सेना र प्रहरीलाई गुहार्नुपर्ने अवस्था थियो ।
यस्तै, दिवसकै अवसरमा रक्तदान गर्नुअघि प्रहरीले दिक्तेलको हाटडाँडादेखि कालिका भगवती मन्दिर परिसरसम्म सरसफाइसमेत गरेको छ । जिल्लाको पर्यटकीयस्थल मझुवागढी जाने बाटोमा पर्ने कालिका भगवती मन्दिर आसपासका क्षेत्रलाई फूलैफूलको पहाड बनाउने अभियानसमेत शुरु गरिएको छ ।