खोटाङ, ३० असोज । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्ड अन्तरगत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारी साधनसँगै पैदल यात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्नेगरी निर्माण गरिएको ढल फुट्दा सवारी साधन वारपार गर्न र पैदल यात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयले बताएका छन् ।
करीब पाँच मिटर चौडाइ ढलान गरिएको उक्त सडकखण्डमा निर्माण गरिएको ढलको करीब तीन मिटर जति भाग फुटेर दुर्घटनाग्रस्त क्षेत्र बनेको पाइएको छ । बीच सडकमा ढल फुटेपछि गाडीको टायर राखेर सवारी साधान वारपार गराउने गरिएको यातायात व्यवसायीहरुले बताएका छन् ।
ढल फुटेर जोखिमयुक्त क्षेत्र बनेको सडकमा पशुचौपायाँ हिँडडुल गराउँदा धेरै पटक खुट्टा अड्किएर चोटपटकसमेत लागेको स्थानीय बासिन्दाले बताएका छन् । विशेषगरी घरवरपर खेल्ने बालबालिका तथा विद्यालय आवतजावत गर्ने साना उमेरका विद्यार्थीलाई उक्त स्थानमा जोगाउन कठिन भएको स्थानीय हीरालाल रिजाल बताउनुभएको छ ।
ढल निर्माण गर्ने ठेकेदारदेखि प्राविधिकसम्मको कमजोरीका कारण निर्माण भएको दुई वर्षमै ढल फुटेको स्थानीय बासिन्दाको आरोप छ । केही समयअघि ढल फुटेर सडकमुनि लगाइएको कोदोबालीमा क्षति पुगेको स्थानीय रमेशप्रसाद आचार्यले बताउनुभएको छ ।
ढलान गरिएको उक्त सडकखण्डमा खेतीयोग्य जमिनतर्फ पानी बग्नेगरी ढल निर्माण गरिएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका थिए । ठेकेदार कम्पनीले धान, कोदो लगायतका अन्नबाली उब्जाउ हुने ठाउँमा ढलबाट बग्ने पानी लगाएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् ।
ढल फुट्दा आफूहरुले सास्ती खेप्नुपरेको गुनासो स्थानीय बासिन्दाले गरेपछि शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थलगत अनुगमनसमेत गर्नुभएको छ । अनुगमनका क्रममा स्थानीय बासिन्दाले उठाएको गुनासोलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले आवश्यक प्रक्रिया एवम् बजेट व्यवस्थापन गरेर चाँडै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ठेकेदार कम्पनीले दिक्तेल–दुम्ली सडकखण्डमा ढल निर्माण गर्दा कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्ड बिपरित काम गरेकाले समस्या भएको देखिएको नगरप्रमुख भट्टराईले बताउनुभएको छ । “जता उक्कालो सडक छ, उतै ढलको निकास लगेको देखिन्छ”, उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले आफ्नो फाइदाका लागि कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्ड बिपरित काम गरेको देखिन्छ । मापदण्ड बिपरित काम गर्ने ठेकेदार कम्पनीलाई आवश्यक कारबाही गरिनेछ ।”
सडकको भित्तामा निर्माण गरिएको ढलमा ठेकेदार कम्पनीले फाइदा कमाउने उद्देश्यले पोलेथिन पाइप प्रयोग गरेको पाइएको छ । दुई वर्षअघि ढलान गरिएको उक्त सडकखण्डको विभिन्न ठाउँमा बिच्छ्याइएको रड निस्किएर जोखिमयुक्त क्षेत्र बनेको छ ।
यसैबीच, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ढलान शुरु गरिएको सडक अहिले अलपत्र अवस्थामा छ । दिक्तेल बजारस्थित मानवअधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान रु तीन करोड ९३ लाख ४४ हजारमा ठेक्का आव्हान गरिए पनि निर्माण कम्पनीले करिब ४२ प्रतिशत कम रकम रु दुई करोड ७० लाख ४० हजार १७९ मा ठेक्का पारेको थियो ।
साँघुरो सडक तथा पुरानो भौतिक संरचना रहेको दिक्तेल बजारको सडक वि.सं. २०७८ मङ्सिर–१० गतेभित्र ढलानको सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी वि.सं. २०७८ असार–९ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजार सडक सल्लेरीटोलमा पु¥याएर अलपत्र छाडिएको छ ।
निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले दिक्तेल बजारको सडक ढलानमा समस्या आएको निर्माण व्यवसायी सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेले बताउनुभएको छ । निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रोशन राईलाई नाफा खाएर पेटी ठेक्का दिएको हो ।