प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन : मतदाता रिझाउन घरदैलो अभियानमा उम्मेदवार

Halesi Khabar
0 Shares

खोटाङ, ३ कातिक । आगामी मङ्सिर–४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न खोटाङका उम्मेदवारहरु घरदैलोमा अभियानमा जुटेका छन् । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा नेताहरु आफ्नो उम्मेदवारी दर्ता भएकै दिन (असोज–२३ गते)देखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन् ।

पुराना अनुहारका उम्मेदवारहरु यसअघि आफ्नो कार्यकालमा पूरा गर्न बाँकी योजना गर्न तथा नयाँ अनुहारका उम्मेदवारहरु एक पटक अवसर दिन अनुरोध गर्दै दिनरात नभनी घरघर पुगेर मतदाता रिझाउन व्यस्त देखिएका छन् । जिल्लाका मतदाताहरु भने, मङ्सिर–४ गते हुने निर्वाचन कुरेर बसेका छन् ।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा २६ जना नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले कातिक–१३ गतेभन्दा अगाडि सभा÷सम्मेलन गर्न रोक लगाए पनि उम्मेदवारहरुले पार्टीको बिस्तारित बैठक, शुभकामना आदानप्रदान, कार्यकर्ता भेटघाट लगायत विभिन्न बहानामा बृहत कार्यक्रम गरिरहेका छन् ।

देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पोलिटब्यूरो सदस्य विशाल भट्टराई प्रतिनिधिसभा तथा प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ प्रदेशसभा (क) र जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले प्रदेशसभा (ख)मा उम्मेदवारी दिनुभएको छ । एमालेबाट उम्मेदवारी दिनुभएका तीनैजना नेताहरु अहिले मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिएर विजयी गराउन अनुरोध गरिरहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराई र प्रदेशसभा (क)का उम्मेदवार पिके बिहीबार केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजार तथा प्रदेशसभा (ख)का उम्मेदवार दंगाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा हुनुहुन्छ । एमाले संसदीय दलको निवर्तमान प्रमुख सचेतकसमेत रहनुभएका भट्टराई प्रदेशसभा (ख)को कार्यक्रम सकेर प्रदेशसभा (क)का मतदाता भेटघाटका लागि सर्नुभएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्र तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादी र प्रदेशसभा (ख)मा काँग्रेसले टिकट पाएको छ ।

माओवादी केन्द्रबाट पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेशका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेशका महामन्त्री भूपेन्द्र राई चुनावी गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । पासाङ र वीरबलकाजी बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा तथा भूपेन्द्र सोही नगरपालिकाको वडा नं. ६ नेर्पामा हुनुहुन्छ ।

केन्द्रमा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) र एमालेका नेताहरु खोटाङमा भने, एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । जसपाबाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई ‘केके’ तथा प्रदेशसभा (क)मा केन्द्रीय राकेश राई र प्रदेशसभा (ख)मा प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जसपाका उम्मेदवारहरु पनि अहिले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई रिझाउन दिनरात नभनी गाउँगाउँमा डुलिरहेका छन् । गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा अनुसार खोटाङमा जसपा पाँचौ दल हो ।

जिल्लाका अन्य साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु पनि आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरघरमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि एकमात्र उम्मेदवार सर्जु श्रेष्ठलाई अगाडि सारेको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ‘क’मा केशव राई र प्रदेशसभा ‘ख’मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ‘क’मा प्रयाग राई र प्रदेशसभा ‘ख’मा विमला राईले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राईले प्रदेशसभा ‘ख’मा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राई र जयन्द्रकुमार राई, प्रदेशसभा (क)मा काँग्रेसका महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल र धर्मराज पोखरेल तथा प्रदेशसभा (ख)मा कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

गठबन्धनको टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिनुभएका सर्वधन र सुवासकुमारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ भने, धर्मराजको कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । देशभर काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको अवस्थामा धर्मराजको समेत उम्मेदवारी फिर्ता गराउने पक्षमा काँग्रेस रहेको स्रोतले जनाएको छ ।

यद्यपि, धर्मराजको उम्मेदवारी कायम रहेको अवस्थामा पनि जिल्लाबाट निर्वाचित हुने तीनवटै पदमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा एमाले खोटाङ जिल्लामा दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा तेस्रो भएको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार छ पालिका प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको काँग्रेस जिल्लामा पहिलो तथा दुई पालिका प्रमुख, दुई उपप्रमुख र २४ वडाध्यक्ष जितेको माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । भर्खरै स्थापना भएको एकीकृत समाजवादीले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ ।

तपाईको प्रतिक्रिया