भीम रावल र घनश्यामले टिकट नपाएपछिको रुवाबासी काम छैन् : ओलि

Halesi Khabar
0 Shares


फाइल तस्वीर : काठमाडौँ,५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनुभएको छ ।

भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र? भनी प्रश्नसमेत गर्नुभयो। शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरणसमेत दिनुभएको हो ।

ओलीले वि.सं. २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरूलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो।

उहाँले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासनसमेत दिनुभयो। आवश्यक्ताभन्दा बढी अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाइ राख्नुभयो।

अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन? दुई जना मान्छेका लागि। अनि काशिनाथ अधिकारी जस्तो अरूले त हिजो अस्तिसम्म भन्नुस्न असोज ३ गतेसम्म। असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन।

पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री। नखाएको कुनै मन्त्रालय छैन। यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ। उसलाई किन बनाइएन भनेर रुवाबासी छ। अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं। पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन। पार्टीको हितमा एक शब्द बोलेको होइन। आन्दोलनको हितमा एक शब्द बोलेको होइन। अरु अरु ठाउँमा तमासा देखाइएको छ।’

अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गर्नुभयो। उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्‍याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वाससमेत व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अब न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया