खोटाङ, ७ कातिक ।
सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख एवम् नेकपा (एमाले) खोटाङका सचिवालय सदस्य शङ्करबहादुर राईको दुई महिनापछि निधन भएको छ । मोटरसाइकलको पछाडि बसेर इटहरीबाट बिराटनगरतर्फ जानेक्रममा गत भदौ–२ गते बिहीबार राति हलगडाचोकमा पछाडिबाट आएको बा २ क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका पूर्वप्रमुख राईको आज (सोमबार) निधन भएको हो ।
दुर्घटना लगत्तै अस्पताल लगेर टाउकाको शल्यक्रीया गरिएका बुबाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा घर फर्काउनेक्रममा बाटैमा निधन भएको छोरा गङ्गाप्रसाद राईले बताउनुभयो । “अस्पतालले डिस्चार्ज गरेपछि बुबालाई उदयपुरको बेल्टारस्थित घरमा ल्याएर राखेका थियौँ । बिहानसम्म बुबाको अवस्था सामान्य नै थियो”, उहाँले भन्नुभयो, “सामान्य अवस्थामै बुबाले हामीलाई छाडेर जानुभयो । दुर्घटनाका कारण बुबाको निधन भएकाले उहाँको शव परीक्षण गर्न गाईघाटस्थित जिल्ला अस्पताल लाने तयारी भइरहेको छ ।”
जन्तेढुङ्गा गाउँपालिका–६ धिप्लुङ स्थायी घर भएका पूर्वप्रमुख राईको शव परीक्षणपछि जन्मघरमै ल्याएर किराँत परम्पराअनुसार अन्त्येष्टि गरिने आफन्तले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख एवम् एमाले खोटाङका सचिवालय सदस्य राईको सडक दुर्घटनाका कारण भएको निधनले पार्टीलाई ठूलो क्षति पुगेको जिल्ला इन्चार्ज एवम् पोलिटब्यूरो सदस्य विशाल भट्टराईले बताउनुभएको छ ।
दुर्घटनास्थलमै बेहोस बन्नुभएका पूर्वप्रमुख राईलाई बिराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरेर दुई महिनासम्म उपचार गरेपछि अस्पतालले कातिक–६ गते (हिजो आइतबार) डिस्चार्ज गरेको थियो । मोटरसाइकलको पछाडि बसेको अवस्थामा पछाडिबाट आएको बिराटनगरस्थित रत्न होटलको माइक्रो भ्यानको ठक्करबाट उछिट्टिएर सडकमा पछारिनुभएका राईको टाउकोको देब्रेपट्टीको भित्री भागमा गम्भीर चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
तीव्रगतिमा पछाडिबाट आएको माइक्रोले ठक्कर दिँदा मोटरसाइकल र घाइते राईद्धय दुर्घटनास्थलबाट करिब ५० मिटर पर उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । पूर्वप्रमुख राई सवार मोटरसाइकल चालक युवा सङ्घ जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष चासुमहाङ राईसमेत घाइते हुनुभएको थियो ।
दुर्घटनालगत्तै माइक्रो भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया शुरु गरेको थियो । पूर्वप्रमुख राईको उपचार गर्न अस्पतालमा लागेको खर्चको ७५ प्रतिशत रकम माइक्रोधनी होटलले व्यहोर्ने शर्तमा चालक छुटेका थिए ।
पूर्वप्रमुख राई वि.सं. २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । वि.सं. २०३० सालमा जन्मनुभएका राईको दुई श्रीमती तथा तीन छोरी र तीन छोरा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।