खोटाङ, ७ कातिक । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङका छोरीचेलीहरु चिन्तित बनेका छन् । बिगत वर्षहरुमा तिहार शुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमली लगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खरमात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।
आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लाष्टिकको कृतिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् । कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन् ।
बिगत वर्षहरुभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिएपनि उक्त फूलहरु नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताउनुभयो । “आमा र मलाईलाई गरी झण्डै १५० वटा फूलका माला चाहिन्छ । रोपिएका फूलहरु भर्खर कोपिला लाग्दै छन्”, उहाँले भन्नुभयो, “जसरी भएपछि माइती त पुज्नै प¥यो ! बिकल्प नभएपछि चुरी (जङ्गलमा पाइने फूलको रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पती)को माला बनाइरहेकी छु ।”
बिगत वर्षहरुभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताउनुभयो । “हाम्रो क्षेत्र प्रयाप्त फूल पाउने क्षेत्र हो । तर, यस वर्षको तिहार बिगतको भन्दा अगाडि छ”, उहाँले भन्नुभयो, “गाउँभरी कसैकामा पनि फूल फुलेका छैनन् । फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृतिक फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन् ।”
दश स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष प्रयाप्तमात्रा फूल नरहेको पाइएको छ । तिहारकै लागि भनेर व्यवसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरु समेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत प्रयाप्तमात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन् ।
उता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाण्डेशनमा अध्ययनरत विद्यार्थीले व्यवसायिकरुपमा लगाएका फूलसमेत प्रयाप्त फुलेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउण्डेशनका विद्यार्थीले लगाएका बगैँचामा छिटफुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक १०० जनाभन्दा बढी रहेको फाउण्डेशनका निर्देशक सूर्यबहादुर राईले बताउनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रम बाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन । बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्नका लागि जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरु बताउँछन् ।
जिल्लामा प्राकृतिकरुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानीकारक मानिएको प्लाष्टिकको कृतिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरुले बताएका छन् । यकिन तथ्याङ्क नभएपनि यस वर्ष जिल्लामा लाखौँको कृतिम फूल बिक्री भएको उद्योग बाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार, ऐसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानी लगायतका ठाउँमा कृतिम फूलले राम्रो बजार पाएको व्यापारीहरुले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा माइती पुज्नदेखि घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लाष्टिकको कृतिम फूलको माला नै खरिद गरेको पाइएको वाणिज्य सङ्घका अध्यक्ष राईले जानकारी दिनुभयो ।
पुष्प व्यवसाय सञ्चालन गर्नका लागि जिल्लाको सबै भूगोल उपयुक्त रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानी काठमाडौँ लगायत अन्य विभिन्न जिल्लाहरुमा निर्यात गरेर जिल्लाको आम्दानीको स्रोतसमेत बढाउन सकिने कृषिविज्ञहरुले बताउँदै आएका छन् ।