खोटाङ, १७ कातिक । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार जोड्ने छोटो दूरीको सडकमा यातायात सञ्चालन गर्न स्तरोन्नति शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकमा यातायात सञ्चालन गर्न स्तरोन्नति शुरु गरिएको हो ।
खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ४० लाख बजेट उपलब्ध गराएको छ । उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम शुरु गरिएको उक्त सडकमा उपभोक्ता समितिको रु छ लाख ७९ हजार ७२१ श्रमदान रहेको छ ।
तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको उक्त सडक नगरपालिकाको गौरवको आयोजनामा राखिएको छ । दिक्तेलबाट साढे ३१ किलोमिटर लामो उक्त सडकको भौतिक प्रगति बुझ्न नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, दिक्तेलका वडाध्यक्ष नवराज राई र खाल्लेका वडाध्यक्ष खगेन्द्र राई तथा नगरपालिकाको प्राविधिक टोली मङ्गलबार निर्माणस्थलमा पुगेका थिए ।
तीव्रगतिमा स्तरोन्नति भइरहेको उक्त सडकलाई तत्कालका लागि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गर्न सकिने सम्भावना नगरउपप्रमुख विशन राईले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभीरसम्म र सगरथामा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ट्रयाक खोलेको थियो ।
घर्तीभीरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “घर्तीभीरको चट्टान तोडेर दुवैतर्फको ट्रयाक जोड्ने पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले दिक्तेलबाट महुरे, बुइपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक जोड्न सक्यौँ भने दिक्तेलबाट सिधै डेढ घण्टामा रेग्मीटार पुग्न सकिन्छ ।”
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । स्तरोन्नतिको काम थालिएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
नगरप्रमुख भट्टराईले हाललाई प्राप्त बजेटबाट आहालेदेखि दिखुवाफेदीसम्म यातायात सञ्चालन हुनेगरी सडक स्तरोन्नति गर्न उपभोक्ता समितिलाई निर्देशन दिनुभएको छ । बाँकी नाली, ड्रेन तथा सोलिङका लागि पुनः बजेट व्यवस्थापन गर्ने नगरप्रमुख भट्टराईले आश्वशन दिनुभएको छ ।
दिखुवाखोला पारीबाट थ्रिस्टार हाइड्रोपावर कम्पनीले राजापानीको पुरानो गाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवयर, इन्धन लगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रति केजी रु दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको उद्योग बाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले जानकारी दिनुभएको छ ।
यता, कालोपत्र थालिएको दिक्तेल–खानीडाँडा सडक भने करिब वर्ष दिनदेखि अलपत्र अवस्थामा छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिए पनि पछिल्लो समय ठेकेदारको लापरबाहीले अलपत्र बनेको हो ।
ठेकेदार कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले वि.सं. २०७६ चैत–७ गतेभित्र सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको उक्त सडक सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि वि.सं. २०७८ वैशाख–२९ गते सएिको छ । अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७.७६ प्रतिशतमात्र सम्पन्न भएको हो ।
दिक्तेल–खानीडाँडा सडक शुरुका दिनमा कालोपत्रको कामलाई तीव्रता दिइए पनि क्रमशः सुस्तगतिमा झरेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना हुँदै आएको छ । अलपत्र सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरुपमै निर्देशन दिइएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।