खोटाङ, १७ कातिक । हरिबोधनी एकादशीको अवसर पारेर खोटाङका तीन स्थानीय तहले भोलि (कातिक–१८ गते) सार्वजनिक बिदा दिएको छ । एक वर्षभरी पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण मानिने हरिबोधनी एकादशीको अवसर पारेर लाग्ने धार्मिक मेलाका लागि खोटाङका बराहपोखरी, जन्तेढुङ्गा र रावाबँेसी गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो ।
बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले बराहपोखरीमा लाग्ने धार्मिक मेला तथा रावाबेँसी गाउँपालिकाले रभुँवाघाटमा लाग्ने धार्मिक मेलाका लागि बिदा दिएको सूचनामार्फत जनाएको छ । हरिबोधनी एकादशीको अवसर पारेर बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले गत वर्षहरुमा पनि सार्वजनिक बिदा दिँदै आएको थियो भने, रावाबेँसी गाउँपालिकाले यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीको अवसर पारेर तीन दिनसम्म ठूलो मेला लाग्ने गरेको छ । मेलालाई व्यवस्थित गर्न दुई गाउँपालिका तथा बराहपोखरी विकास समितिको तर्फबाट स्वयम्सेवकसमेत परिचालन गरिएको छ भने, मेलामा हुन सक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाइएको छ ।
मेलामा विशेषगरी दिबङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाईमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ रातो माछासमेत पाइन्छ ।
समुन्द्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाईमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने गरेको छ । बराहपोखरीमा लाग्ने मेला भर्न जिल्लाका दशवटै स्थानीय तह, छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, ईलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चिन, भुटान लगायतका दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।
परापूर्वकालमा एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किम्बदन्ती छ । बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजाआराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।
जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि पोखरीमा नुहाउने चलनसमेत रहिआएको छ । बाह्रै महिना हरियो पानी देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।
उता, खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा लाग्ने धार्मिक मेलामा दिबङ्गत आफन्तको नाममा सतबीज छर्ने, फूल तार्ने तथा मारुनी नाच देखाउने गरिएको छ । हरिबोधनी एकादशीको अवसर पारेर दूधकोशी नदीस्थित रभुँवाघाटमा हप्तादिनसम्म मेला लाग्ने गरेको छ ।
परापूर्वकालदेखि धार्मिक मेला लाग्दै आएको ऐतिहासिकस्थल रभुँवाघाट अबको केही वर्षमा डुबान हुँदै छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको व्यापारिक केन्द्रसमेत रहेको रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत उत्पादन गर्ने काम शुरु गरिएको छ ।
रभुँवाघाटमा ड्याम (ताल) निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावर हाउस (विद्युत गृह)मा खसालिने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । करिब रु. एक खरब ५० अरबको लगानीमा सम्पन्न हुने आयोजनाको ड्याम २१० देखि २३० मिटर गहिरो हुने जनाइएको छ ।
यसैबीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँसभा सदस्य एवम् वडा नम्बर–२ डाँडागाउँकी निर्वाचित वडासदस्य कुमारी नेपालीको निधन भएकाले भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।