मतदाताको मत बदर हुन नदिन खोटाङमा नमूना मतदान

Halesi Khabar
0 Shares

खोटाङ, २१ कातिक । आगामी मङ्सिर–४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा नमूना मतदान गरेको छ । मतदातालाई मतदान गर्ने विधिका बारेमा जानकारी दिँदै मत बदर हुनबाट जोगाउन निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमूना मतदान गरेको हो ।

जन्तेढुङ्गा गाउँपालिकामा १३५ मत खसेकामा पाँच मत तथा बराहपोखरी गाउँपालिकामा १६० मत खसेकामा १२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचनमा सात चुनाव चिन्हमा मत हालेका मतदाताले नमूना मतदानमा पनि सातवटै ठाउँमा मत हाल्न खोज्दा बदर मत खसेको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “नमूना मतदानका क्रममा मतदान प्रकृया कस्तो हुन्छ ? मतपत्रको प्रकार, त्यसको रङ्ग बारे जानकारी गराइएको छ । कस्तो अवस्थामा मत बदर हुन्छ भनेर बक्स खोलेर देखाइएको छ ।”

नमूना मतदानका क्रममा महिला, पुरुष र अशक्तको छुट्टाछुट्टै लाइन बनाएर मतदाता परिचयपत्र तथा मतदान अधिकृतको हस्ताक्षर रुजु गर्दै गोप्य कोठामा मत हाल्ने व्यवस्था मिलाइएको थियो । नमूना मतदानका क्रममा सर्वसाधारणलाई स्वस्तिक छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधि लगायतका विषयमा जानकारी दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।

नमूना मतदानलाई स्थानीयबासिन्दाले आगामी निर्वाचन अघि मतदान गर्ने अभ्यासकारुपमा लिएका छन् । नमूना मतदान कार्यक्रमले मतदातामा मतदान सम्बन्धी अलमल हट्ने दाबी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनका लागि अभ्यास गर्ने अवशरकारुपमा नमूना मतदानमा स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मत पेटिका तयारी अवस्थामा राखेको छ । जिल्लाको १३६ मतदान स्थलको १९४ मतदान केन्द्रका लागि ७९२ थान मत पेटिका तयारी अवस्थामा राखेको हो ।

जिल्लाको १३६ मतदानस्थलको १९४ मतदान केन्द्रमा पाँच वटाका दरले र दुई वटा अस्थायी मतदान केन्द्रमा एक÷एक वटाका दरले मत पेटिका प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो । प्रत्यक्ष र समानुपातिक मतका लागि प्रतिमतदान केन्द्र चार÷चार वटा मत पेटिका प्रयोग हुने भएपनि एक÷एक थान मत पेटिका जगेडाका रुपमा मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।

एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा सदस्यका लागि मतदान हुने जिल्लामा मङ्सिर–४ गते हुने निर्वाचनमा एक लाख ४२ हजार ७९२ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आसन्न निर्वाचनमा यसअघि मतदाता नामावलीमा दर्ता गराएका तर, परिचयपत्र प्राप्त गर्न बाँकी रहेका मतदातालाई निर्वाचन आयोगले मतदान गर्न दिने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकन्द्र राईले जानकारी दिनुभयो ।

सूचना अधिकारी राईका अनुसार मतदाता नामावलीमा नाम रहेका मतदाताले नेपाल सरकारद्धारा जारी नेपाली नागरिकताको प्रमाणपत्र तथा अन्य परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् । यसअघि गत वैशाख–३० गते भएको निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भएपनि मतदाता परिचयपत्र नहुने व्यक्तिले मतदान गर्न पाएका थिएनन् ।

 

तपाईको प्रतिक्रिया