चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड खोटाङ आउनुहुने

Halesi Khabar
0 Shares

खोटाङ, २६ कातिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खोटाङ आउने हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले कातिक–३० गते दिक्तेलबजारमा आयोजना गर्ने बृहत चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट खोटाङ आउने हुनुभएको हो ।

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरसमेत सोही हेलिकोप्टरमा खोटाङ आउनुहुने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिनुभयो । हेलिकोप्टरमार्फत दिउँसो करिब तीन बजे खोटाङ आउनुहुने तीनैजना नेताहरुले दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिने बाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुहुने जनाइएको छ ।

प्रचण्डसहित तीनजना केन्द्रीय नेताहरु खोटाङ आउने हुनुभएपछि स्वागतका लागि तयारी थालिएको बाम–लोकतान्त्रिक गठबन्धनका चुनाव परिचालन समितिले जनाएको छ । चुनावीसभामा पूर्वप्रधानमन्त्री प्रचण्ड नै खोटाङ आउने हुनुभएपछि जिल्लाको सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो ।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया