खोटाङ, २९ कातिक । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ (पोका पार्ने काम), सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाउने काम शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो । “सदरमुकाम दिक्तेदेखि टाढा पर्ने मतदानस्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई मङ्गलबारबाट आवश्यक सामग्रसहित पठाउन थालिएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मङ्सिर–१ गतेभित्र जिल्लाका सबै मतदानस्थलमा पुगिसक्ने छन् ।”
दश स्थानीय तह रहेको जिल्लामा १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । दुईवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो ।
कर्मचारी र सुरक्षाकर्मीका लागि दिक्तेलस्थित जिल्ला समन्वय समिति कार्यालय तथा कैंदीका लागि मुडेस्थित जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिनुभयो । कर्मचारी, सुरक्षाकर्मी र कैंदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
निर्वाचनमा एक हजार ५५८ जना कर्मचारी, जनपथ र म्यादीगरी एक हजार ८४६ जना प्रहरी र आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभएको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतको आधारमा बाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार ५१३ मत तथा एमालेको २८ हजार ७९७ मत रहेको निर्वाचन आयोगको तथ्याङमा उल्लेख छ ।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै जिल्लास्थित सबै राजनीतिक दल तथा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता तान्ने अन्तिम कसरतमा रहेका छन् । जिल्लास्थित सबै राजनीतिक दलका नेता तथा उम्मेदवारहरु यतिबेला चुनावीसभा, दरदैलो अभियान तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
बाम–लोकतान्त्रिक गठबन्धनले बुधबार दिक्तेलमा बृहत चुनावीसभा आयोजना गरेको छ । गठबन्धनले आयोजना गरेको अन्तिम चुनावीसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरसमेत सोही हेलिकोप्टरमा खोटाङ आउनुहुने भएको छ ।