खोटाङ, ३० कातिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर–४ गते हुने आम निर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेहरुबीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्नेहरु एकातिर तथा संविधान च्यात्ने, उल्ट्याउने र राजतन्त्र ब्युँताउन चाहनेहरुको अर्कोतर्फ रहेको जानकारी दिनुभयोे ।
माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेहरुको अभीष्ट पूरा नहुने दाबी गर्नुभयो । “देशभर भएका कार्यक्रमहरुमा जनताको अपार उपस्थितिले सत्ता गठबन्धनका उम्मेदवारहरुको विजयलाई सुनिश्चित गरिसकेको छ”, उहाँले भन्नुभयो, “खोटाङ जिल्लाको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टीकोतर्फबाट, गठबन्धनकोतर्फबाट र सरकारकोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु ।”
छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकोप्टरबाट खोटाङ आउनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको बताउनुभएको छ । “क. रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले १ नं. प्रदेश सरकारको खानेपानी, सिचाइँ तथा उर्जामन्त्रीसमेत हुनुहुन्छ । तपाईहरुले विजय गराउनुभयो भने केन्द्रको मन्त्री हुने पुरै सम्भावना छ”, उहाँले भन्नुभयो, “तपाईहरुको विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै र यो गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुपर्छ । राजनीतिक स्थायित्व र विकासको नयाँ युगतिर देशलाई लानुछ । यसमा तपाईहरुको सहयोग आवश्यक छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलले बनाउने आश्वासन दिनुभएको छ । “नेकपा (एमाले)का अध्यक्ष ओली जी कुरा मात्र गर्नुहुन्छ । काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बाह्रै महिना चल्ने सडक निर्माणको काम गठबन्धन सरकारले गर्नेछ”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि सत्ता गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर अत्यधिक बहुमतले विजयी थराउनुहोस् । केन्द्रबाट उचित व्यवस्थापन हुन्छ ।”
प्रवक्ता डा. महतले आसन्न निर्वाचनमा एउटाले अर्कालाई सहयोग गर्न गठबन्धन बनेको बताउनुभएको छ । “आसन्न निर्वाचनमा पार्टीलाई समानुपातिकमा मत दिन हामी सबै जान्छौँ । सोही बेला गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ मत दिएर एकअर्कालाई सहयोग गरौँ”, उहाँले भन्नुभयो, “अर्को जिल्लामा उसले अर्कोलाई सहयोग गर्नेछ । गठबन्धन भनेको नै एकले अर्कोलाई सहयोग गर्न बनेको हो ।”
काँग्रेस प्रवक्ता डा. महतले खोटाङमा पर्यटकीय महत्व बोकेको त्रिधार्मिकस्थल हलेसी, किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायाजुङसमेत भएकाले त्यसको समग्र विकास सत्ता गठबन्धनले गर्ने बताउनुभयो । सो चुनावीसभालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर आउनुहुने बताइए पनि अस्वस्थताका कारण नआउनुभएको जनाइएको छ ।
प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा हुनुहुन्छ ।