खोटाङमा ४८ प्रतिशत मत खस्यो, मतपेटिका बुझाउनेक्रम जारी

Halesi Khabar
0 Shares

खोटाङ, ५ मङ्सिर । एक लाख ४२ हजार ७९२ मतदाता रहेको खोटाङमा करिब ४८ प्रतिशतमात्र मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत दिएको प्रारम्भिक जानकारी अनुसार जिल्लामा कुल मतदाताको आधाभन्दा कम मत खसेको हो ।

खसेको मतको प्रारम्भिक तथ्याङ्कमा केही तलमाथि हुनसक्ने मुख्य निर्वाचन अधिकृत सुवाशबाबु पुरीले बताउनुभयो । जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रबाट मतदाताले मतदान गरेका थिए ।

जिल्लाका दशवटै स्थानीय तहको केन्द्रमा जम्मा भएको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा आइपुगेको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मतपेटिका बुझाउने काम भइरहेको छ ।

मतपेटिका बुझ्ने काम सकिएपछि आजै सर्वदलीय बैठक बसेर मत गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृत पुरीले बताउनुभयो । “दिउसो चार बजेसम्म मतपेटिका बुझ्न समय लाग्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “दिउँसोसम्ममा बसै मतपेटिका रुजु गरेर बेलुकाबाट गणना शुरु गर्ने तयारीमा छौँ ।”

मङ्सिर–४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वतन्त्रसहित नौँ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । तीन राजनीतिक दलको गठबन्धन भए पनि टिकट बाँडफाँडको विषयलाई लिएर काँग्रेसका केही नेताहरुको असन्तुष्टि कारण गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।

तपाईको प्रतिक्रिया