खोटाङ, ५ मङ्सिर । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा आज राति नौँ बजेपछि मत गणना शुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टा–छुट्टै एक÷एक ठाउँगरी एकैसाथ तीन ठाउँमा मत गणना गर्ने सर्वदलीय सहमति भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा बसेको सर्वदलीय बैठकको निणर्य अनुसार एक उम्मेदवारको एकजना मात्र प्रतिनिधि रहन पाउने व्यवस्था गरिएको छ भने, ५०० मत गणना गरेपछि मात्र जानकारी दिने निर्णय भएको छ । यस्तै, मत गणनालाई मर्यादित तथा शान्तिपूर्ण तवरमा सम्पन्न गर्न मादक पदार्थ सेवनमा रोक लगाइएको छ भने, उम्मेदवारका प्रतिनिधि तथा पत्रकारलाई प्रवेश अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो । मतदातामा निर्वाचन सम्बन्धी चासो नहुनुका साथै अन्नबाली उठाउने समय भएकाले कम मत खसेको विश्लेषकहरुले बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।