खोटाङ निर्वाचन अपडेट : प्रतिनिधिसभा सदस्यमा रामकुमार राई ‘पासाङ’को अग्रता

Halesi Khabar
0 Shares

खोटाङ, ६ मङ्सिर । मङ्सिर–४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङमा मत गणना जारी छ । शुरुवाती चरणमा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले झिनो मतान्तरले अग्रता लिनुभएको छ ।

५०० मत गणना हुँदा मन्त्री पासाङले २३६ मत तथा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले २२४ मत प्राप्त गर्नुभएको छ । मन्त्री पासाङले भट्टराईलाई १२ मतले पछि पार्दै अग्रता लिनुभएको हो ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का डा कृष्णकुमार राईले दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले दुई, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमनि राईले पाँच, नेपाल मङ्गोल अर्गनाइजेसन पार्टीका दीपक मगरले दुई मत पाउनुभएको छ भने, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले अहिलेसम्म मत पाउनुभएको छैन ।

हालसम्म २७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभएको छ । सोमबार राति नौँ बजेबाट मत गणना गर्ने भनिए पनि साढे ११ बजेबाटमात्र शुरु भएको थियो ।

प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टा–छुट्टै एक÷एक ठाउँगरी एकैसाथ तीन ठाउँमा मत गणना भइरहेको छ । तीनवटै तहको मत परिणाम ५०० गणना सकेपछि मात्र जानकारी दिने व्यवस्था मिलाइएको छ ।

मत गणनालाई मर्यादित तथा शान्तिपूर्ण तवरमा सम्पन्न गर्न मादक पदार्थ सेवनमा रोक लगाइएको छ भने, उम्मेदवारका प्रतिनिधि तथा पत्रकारलाई प्रवेश अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ ।

प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।

तपाईको प्रतिक्रिया