खोटाङ, ६ मङ्सिर । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको खोटाङमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले शुरुवाती चरणबाटै झिनो मतान्तरले अग्रता लिनुभएको हो ।
तीन हजार १३९ मत गणना हुँदा मन्त्री पासाङले एक हजार ४३१ तथा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले एक हजार ३६० मत प्राप्त गर्नुभएको छ । मन्त्री पासाङ ७१ मतले अगाडि देखिनुभएको छ ।
प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राईले एक हजार ७४९ र एमालेका पाँचकर्ण राई ‘पिके’ले एक हजार ४८७ मत प्राप्त गर्नुभएको छ । वीरबलकाजी २६२ मतले अगाडि देखिनुभएको छ ।
यस्तै, प्रदेशसभा (ख)मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भुपेन्द्र राईले एक हजार ५०१ र एमालेका रामप्रसाद दङ्गालले एक हजार २६१ मत प्राप्त गर्नुभएको छ । गठबन्धन उम्मेदवार राई २४० मतले अगाडि रहनुभएको छ ।
प्रतिनिधिसभातर्फ हलेसी तुवाचुङ नगरपालिका र प्रदेशसभा (ख)मा खोटेहाङ गाउँपालिकाको मतगणना भएको भइरहेको छ । प्रदेशसभा (क)मा केपिलासगढी गाउँपालिकाको मतगणना सकिएको छ ।
प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टा–छुट्टै एक÷एक ठाउँगरी एकैसाथ तीन ठाउँमा मत गणना भइरहेको छ । तीनवटै तहको मत परिणाम ५०० गणना सकेपछि मात्र जानकारी दिने व्यवस्था मिलाइएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार रहेको जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।