भट्टराईसँगको मतान्तर बढाउँदै मन्त्री पासाङ

Halesi Khabar
0 Shares

खोटाङ, ६ मङ्सिर । प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर बढाउनुभएको छ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले दुई हजार ५९२ मत प्राप्त गर्दा मन्त्री पासाङले तीन हजार एक मत प्राप्त गर्नुभएको छ ।

छ हजार २९५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार मन्त्री पासाङ ४०९ मतले अगाडि रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले हलेसी तुवाचुङ नगरपालिकाको मत गणना भइरहेको छ ।

उता, प्रदेशसभा (क)मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई २६२ मतले अगाडि हुनुहुन्छ । नेकपा (एमाले)का १ नं. प्रदेश समिति सदस्य पाँचकर्ण राईले एक हजार ४८७ मत ल्याउँदा वीरबलकाजीले एक हजार ७४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभएको छ ।

प्रदेशसभा (ख)मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालभन्दा ४४४ मतले अगाडि हुनुभएको छ । महामन्त्री राईले तीन हजार तीन मत प्राप्त गर्दा दङ्गालले दुई हजार ५५९ मत प्राप्त गर्नुभएको छ ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार रहेको जिल्लामा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया