खोटाङ, ६ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर पुनः बढाउनुभएको छ । मन्त्री पासाङले चार हजार ३१६ मत प्राप्त गर्दा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले तीन हजार ५८३ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धनका साझा उम्मेदवार मन्त्री पासाङ एमालेका भट्टराईभन्दा ७३३ मतले अगाडि देखिनुभएको छ । अहिले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको मत गणना भइरहेको गणनास्थलमा रहनुभएका पत्रकार सूर्य तामाङले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टीका कृष्णकुमार राईले ३६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले १०८, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले २२, मङ्गो नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगरले ७६, आमूल परिवर्तन मसिहाँ पार्टीले ३८ र स्वतन्त्रका जयन्द्रकुमार राईले ९७ मत प्राप्त गर्नुभएको छ । नौँ हजार ४७ मत गणना हुँदा ४४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उता, प्रदेशसभा (क)मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई १२८ मतले अगाडि हुनुहुन्छ । वीरबलकाजीले तीन हजार ८१५ तथा नेकपा (एमाले)का १ नं. प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ले तीन हजार ६८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभएको छ ।
यस्तै, जनता समाजवादी पार्टीका राकेश राईले ८९५, नेकपा (माले)का पदमप्रसाद आचार्यले ५१४, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले १८, नेपाल मजदुर किसान पार्टीका केशव राईले १८, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले चार र अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले ५२६ मत प्राप्त गर्नुभएको छ । नौँ हजार ९७८ मत गणना हुँदा ५०१ मत बदर भएको जनाइएको छ ।
प्रदेशसभा (ख)मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालभन्दा ४९५ मतले अगाडि हुनुभएको छ । महामन्त्री राईले चार हजार ५०१ मत प्राप्त गर्दा दङ्गालले चार हजार छ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का प्रेमकुमार राईले ११७, मङ्गोल नेश्नल अर्गनाइजेशन पार्टीका विमला राईले १५, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १६ र खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ११९ मत प्राप्त गर्नुभएको छ । नौँ हजार १९ मत गणना हुँदा २४५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार रहेको जिल्लामा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।