प्रतिनिधिसभामा पासाङ तथा प्रदेशसभा (क)मा पिके र (ख)मा भूपेन्द्रको अग्रता

Halesi Khabar
0 Shares

खोटाङ, ७ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले लगातार मतान्तर फराकिलो बनाउनुभएको छ । मन्त्री पासाङले नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् निवर्तमान एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई ८२४ मतान्तरले पछि पार्दै आफ्नो शुरुदेखिको अग्रतालाई थप बढाउनुभएको हो ।

पच्चीस हजार ९१० मत गणना सम्पन्न हुँदा गठबन्धनका उम्मेदवार पासाङले १२ हजार १२५ मत प्राप्त गर्नुभएको छ भने, एमालेका भट्टराईले ११ हजार ३०१ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार कृष्णकुमार राईले ६९९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले २८२, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले ४८, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगरले ८९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले ४५ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले १३५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ६७ हजार ३७३ मत खसेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभएको छ । खसेको मतमध्ये हालसम्म एक हजार १८६ मत बदर भएको जनाइएको छ ।

उता, प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार प्रदेशसभा (क)मा नेकपा (एमाले)का प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ले पछिल्लो समय अग्रता लिनुभएको छ । छब्बीस हजार ७९२ मतगणना हुँदा पिकेले दश हजार ५१३ मत प्राप्त गर्नुभएको छ भने, नेकपा (एकीकृत समाजवादी) पार्टी १ नं. प्रदेश समन्वय समितिका संयोजक वीरलकाजीले नौँ हजार ४१८ मत प्राप्त गर्नुभएको छ ।

संविधासभा सदस्यसमेत रहनुभएका एमाले उम्मेदवार पिके एक हजार ९५ मतले अगाडि देखिनुभएको छ । प्रदेशसभा (क)को अन्तिम नतिजा राति अबेरसम्ममा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईल एक हजार ९६२, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार २२१, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले ११५, नेपाल मजदुर किसान पार्टीका केशव राईले ६०, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले दश तथा अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले दुई हजार १८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (क)मा ३३ हजार ८९३ खसेको छ । खसेको मतमध्ये हालसम्म एक हजार ३११ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेशसभा (ख)मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका १ नं. प्रदेश महामन्त्री भूपेन्द्र राईले फराकिलो मतान्तर बनाउनुभएको छ । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाललाई एक हजार १७६ मतले पछि पार्नुभएको छ ।

अठ्ठाईस हजार ६१९ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले १३ हजार ७५५ मत प्राप्त गर्नुभएको छ भने, एमालेका दङ्गाल १२ हजार ५७९ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का प्रेमकुमार राईले ८३९, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका विमला राईले ९८, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले ९८, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले २८६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (ख)मा बराहपोखरी गाउँपालिकाको मात्रै गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राति अबेरसम्ममा अन्तिम नतिजा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (ख)मा ३३ हजार ४८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेको मतमध्ये हालसम्म ९६४ मत बदर भएको जनाइएको छ ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ । दश स्थानीय तह रहेको जिल्लामा यस पटकको निर्वाचनमा मतदाताको उत्साह भने देखिएन ।

 

तपाईको प्रतिक्रिया