खोटाङ, ८ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा खोटाङबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् निवर्तमान संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पछाडि पार्दै मन्त्री पासाङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि ६७ हजार ३७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार मन्त्री पासाङले ३१ हजार ३५१ मत प्राप्त गरेर जियी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ । जम्मा खसेको मतमध्ये दुई हजार ९८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मनुभएका पासाङले २०४१ सालबाट राजनीति शुरु गर्नुभएको थियो । वि.सं. २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील भएर वि.सं. २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद बन्नुभएका पासाङ वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित हुनुभएको थियो ।
ंतत्कालीन नेकपा (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक यात्रा शुरु गर्नुभएका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा वि.सं. २०४९ देखि ०५८ सालसम्म क्रियाशील रहनुभएको थियो । वि.सं. २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हाल्नुभएका पासाङले करिब ३८ वर्षको राजनीतिक अनुभव बटुली सक्नुभएको छ । भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत हुनुभएका पासाङ जिल्लामा निष्ठावान तथा भ्रष्टाचारबिरोधी नेताका रुपमा परिचित हुनुहुन्छ ।
वि.सं. २०६२÷०६३ मा सैन्य विभागको बिग्रड कमाण्डरसमेत हुनुभएका पासाङले जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । भर्खरै ढलानको काम सकिएको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पासाङकै पालामा योजना परेको हो ।
मन्त्री पासाङसँग पराजित एमालेका उम्मेदवार भट्टराई वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । भट्टराई नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुनुहुन्छ ।
यस्तै, प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु जनता समाजवादी पार्टी (जसपा)का डा. कृष्णकुमार राईले एक हजार ९१४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले एक हजार ७६१, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४०, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगरले १३१, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९ मत प्राप्त गर्नुभएको छ । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशत मत खसेको थियो ।
प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी भइसक्नुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार १९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
पिकेले १३ हजार १५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार ९६५ मत प्राप्त गर्नुभएको छ । वि.सं. २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके वि.संं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो ।
प्रदेशसभा (ख) खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भूपेन्द्र राई यसअघि नै भारी मतान्तरले विजयी हुनुभएको थियो । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार १४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार राईले १६ हजार ४९६ मत र दङ्गालले १४ हजार ३५६ मत प्राप्त गर्नुभएको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मार्नुभएको हो ।