खोटाङ, ८ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले खोटाङको समग्र विकास तथा जनताको मुक्तिका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन सम्पन्न भएपछि वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले बिहीबार साँझ दिक्तेलस्थित त्रिवेणीचोकमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री पासाङले प्रतिस्पर्धी जनमतलाई समेत कदर गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।
मन्त्री पासाङले आफूहरुलाई हराउन प्रतिगामी तत्वहरुले मतदातामा विभिन्न प्रकारको भ्रम फैलाउने काम गरे पनि त्यो सम्भव नभएको बताउनुभएको छ । “तपाईहरुले गर्नुभएको विश्वसालाई हामी बिर्सने छैनौँ । हामी संसद विघटन गर्दैनौँ । भ्रष्टाचारीलाई प्रसय दिने छैनौँ । अधुरा योजनाहरु पूरा गर्नेछौँ”, सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “खोटाङ्गे जनताको भावनालाई कदर गर्छौँ । मतदाताको शीर झुक्न दिने छैनौँ ।”
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा–२ (ख) गठबन्धनमा आवद्ध राजनीतिक दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा मन्त्री पासाङ ३१ हजार ३५१ मत तथा प्रदेशसभा–२ (ख)मा नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई १६ हजार ४९६ मत ल्याएर विजयी हुनुभएको हो ।
प्रतिनिधिसभामा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् निवर्तमान संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पछाडि पार्दै मन्त्री पासाङ विजयी हुनुभएको छ भने, प्रदेशसभा–२ (ख)मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाललाई दुई हजार १४० मतले पछि पार्दै महामन्त्री राई विजयी हुनुभएको छ । एमालेका पोलिटब्यूरो सदस्य भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ भने, जिल्ला अध्यक्ष दङ्गालले १४ हजार ३५६ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा– १ (क)मा नेकपा (एमाले)का १ नं. प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईलाई एक हजार १९२ मतले पछि पार्दै पिके प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
पिकेले १३ हजार १५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार ९६५ मत प्राप्त गर्नुभएको छ । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख राजेश गौतमले जानकारी दिनुभएको छ ।