ज्योतिषि र खादामालामा व्यस्त नेतालाई खुल्ला-पत्र

Halesi Khabar
0 Shares

कुमारबाबु बस्नेत (टिबी)
खोटाङ, हाल भक्तपुर
आवधिक निर्वाचनको परिणाम आउँदैगर्दा काठमाडौं शहरमा तीन कुराको चर्चा (तीन मोह) चलेको छ । पहिलोः केपी ओलीको ज्योतिषि मोह– झट्ट हेर्दा निक्कै हेर्न लायक तर कम्यूनिष्ट भएर बुझ्दा अत्यन्तै निराशाजनक र घिन लाग्दो देखियो ज्योतिषि मोह, जुन दुःखद पाटो हो । प्रधानमन्त्री बन्न यदि ज्योतिषिमै बिश्वास गर्नु थियो भने आवधिक निर्वाचनमा राज्यको यत्रो खर्च किन गर्नु सरकारले ? एउटा धार्मिक पुरोहित बोलाएर १३५ निर्वाचन क्षेत्रमै जितेको घोषणा गरिदिनुभएको भए लन्ठैसाप !
संविधानमा चै धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न लगाउने र सहि ठोक्ने अनि ज्योतिषि खोज्ने कुरा कति जायज हो श्रद्धेय अध्यक्ष ज्यू ? म कट्टर हिन्दु आदिवासी क्षेत्री हुँ । म हिन्दु राष्ट्रको जुनसुकै बेला स्वागत गर्छु ब्यक्तिगत रूपमा । तर नेकपा (एमाले) सनातन हिन्दु राष्ट्रकै पक्षमा थियो र हो भने हिजो चुनावी घोषणा पत्रमा किन चुनावी मुद्धा बनाउन सकिएन ?
हिन्दु राष्ट्रको मुद्धामा भोटको कुरा गर्ने हो भने दुई तिहाई होईन तीन तिहाई भोट आउँथ्यो अध्यक्ष ज्यु ! तर अझै जनतालाई भ्रममा पारेर एमाले हिन्दुवादी पनि हो है भन्ने भ्रम तत्काल बन्द गरियोस् अन्यथा झलनाथकै लाईन नहोला भन्न सकिन्न । अब पनि नेपाली जनताले सुध्रिने समय दिने छैनन् हेक्का रहोस् ।
दोस्रोः प्रचण्डको खादामाला मोह– सशस्त्र संघर्षबाट १७ हजार नेपालीको एउटै चिहान खनेर उत्सव मनाउदै संसदीय राजनीतिमा आएको आफुलाई संसारकै क्रान्तिकारी भन्ने कम्युनिष्ट पार्टीको अध्यक्षले १७ हजार मारेको ब्याज घट्दै–घट्दै लगभग सत्रै बर्षमा १७ सिटमा खुम्चिदा र हिजो राजतन्त्रको वकालत गर्ने दल शुन्यबाट तन्केर १५–१७ सिटतिर पुग्दा समेत चेत नखुलि अझै बल्लतल्ल जितेको संसदको हर्ष बढाइमै रमाउनु भनेको तपाईसँग न भिजन छ, न त अब सिजन छ । नेपालको राजनीतिमा तपाईँको अन्तिम संसदीय यात्रा भन्ने प्रष्ट देखियो । हुन त तपाईँ आफुले धेरै परिवर्तन ल्याएँ भने पनि नेपालमा जातीय बिभेद (छुवाछुतमा केही कमी हुनु) हट्नु बाहेक तपाईको क्रान्तिले माखो मारेको होईन ।
अग्रगामी छलाङको नाउँमा भ्रम र उक्साहटबाहेक केही गर्न सकेको होईन । तर पनि जिम्मेवार व्यक्ति भएकोले सुध्रिएर पुराना कम्युनिस्ट नेता बाहिर रहँदै युवापुस्तालाई कम्युनिष्ट एकतातिर गोलबद्ध गर्दै लगिदिएमा इतिहासले हत्यारा प्रचण्ड हो भन्ने मात्रै नचिनि कम्युनिष्ट एकताको अभियान्ता पनि भनेर चिन्थे कि अध्यक्ष छबिलाल दाहाल ज्यु !
तेश्रोः सुकुम्बासी बस्तीमा बालेनको डोजर मोह– बालेनको डोजर मोह काठमाडौंमा चिसो बढेसँगै बढ्नु विकल्प रहित दुःखद हो । तर पनि वैज्ञानिकहरुले हेलिकप्टर बनाउने तर त्यसको नटबोल्ट पाएन भनेर त्यहीँ हेलिकप्टरको एक साईडको डन्डी काटेर नटबोल्ट बनाउने नाउँमा हेलिकप्टर बिगार्ने छुट कदापी छैन भन्ने कुराको हेक्का मेयरसँग हुनुचै पर्छ । सुकुम्बासीको नाममा हुकुमबासीको दादागिरी अन्त्य गर्नुपर्छ तर त्यसको लागि वास्तविक सुकुम्बासीलाई नेपाल देशभर तिन पुस्ताभित्र जग्गा जमिन जायजेथा केही नभएको भनि उस्को नागरिकता पाएको जिल्ला र स्थानीय निकायबाट प्रमाणित कागजात ल्याउने एउटा निश्चित समय सिमा दिनुपर्छ अनि मात्रै डोजर चलाउनु पर्छ ।
यसरी समय सीमा दिँदा पनि खुकुरी र दादागिरी देखाए भने चैँ मेयर बालेन साह ज्यु, त्यो डोजरले अस्थायी टहरा होइन टहराका धनीलाई नै डोजरको च्यानले पेल्नुस्, त्यतिबेला हामी सारा देशभक्त नेपाली जनता साथ दिन तयार छौँ । तर अहिले मद्रासी फिल्ममा एक्सन देखाए झैँ गरेको डोजर आतंक सहि भएपनि नियमसंगत छैन । नियमभित्र बस्ने देशको राजधानी समेत रहेको महानगरको मेयरले नियम पुर्णपालना गर्नुपर्ने नै हुन्छ महोदय ।
अन्त्यमा क. केपी ओली र क. छबिलाल दाहाल ज्यु ! तपाईँहरुलाई देश र जनताले अब आश गर्ने भनेको परिवर्तनको लागि होईन, बिकास र परिवर्तनको नेतृत्व गर्न आतुर युवाहरुलाई साथ दिएर आफु अभिभावकीय जिम्मेवारीमा रहि बृहत कम्युनिस्ट एकता गर्ने बाहेक अरु केही होईन । किनकि यो देशको समृद्धि साँच्चिकै भन्नुपर्दा क्रान्तिकारी युवाहरुबाट मात्रै सम्भव छ र त्यो बहुमत युवा शक्ति यो देशमा कम्युनिष्ट दलमा धेरै र बाँकी केही कांग्रेसमा छन् ।
देशमा प्रतिशतमा भन्नुपर्दा ६० प्रतिशत भन्दा बढी कम्यूनिष्ट जनमत भएको र बाँकी जनमत कांग्रेस लगायतका दलहरुसँग भएको हुँदा नेपाली कांग्रेस अब सँधै ‘कम्युनिष्ट फुटाउ र राज गर’को नितीमै आफ्नो राजनीति भबिष्य देख्न थालिसकेकाले त्यो दलबाट तिब्र बिकास सम्भव छैन । त्यस कारण तपाई दुई नेता लगायतले तत्काल फूलमाला र ज्योतिषि मोहतिर अलमल नगरिकन राज्यसत्ताको चाँबी बर्सौंसम्मलाई क्रान्तिकारी युवाको हातमा सुम्पिएर युगले मागेको अभिभावक हुनुहोला । यदि यो गोल्डेन अवसर गुमाउनु हुन्छ भने तपाईंहरुको नाममा कलङ्कको टिका हुदैन भन्ने ग्यारेन्टी नेपाली जनता लिन सक्दैन । चेतना होस् ।

 

तपाईको प्रतिक्रिया