त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान

Halesi Khabar
0 Shares

खोटाङ, १५ मङ्सिर । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रम अन्तरगत १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको रु दश लाख लागतमा हलेसी मन्दिर परिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

मन्दिर परिसरमा सौर्यबत्ती नहुँदा साँझ तथा बिहान मन्दिर दर्शन गर्न जाने तीर्थालु भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठवटा ब्याट्रीमार्फत एक केभीए विद्युत उत्पादन गरिएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक पोलपोलमा विद्युत पु¥याएर सेन्सर (अध्याँरोमा आफै बल्ने उज्यालोमा आफै बन्द हुने) सौर्यबत्ती जडान गरिएको हो ।”

प्रदेश सरकारले गत साउनमा सामान र प्राविधिक टोली पठाएपछि कातिकमा सार्यबत्ती जडानको काम सम्पन्न गरेको थियो । सार्यबत्ती जडान भइसकेपछिको मितिबाट मर्मत सम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, उज्यालो हलेसी कार्यक्रम अन्तरगत नै १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको रु एक करोड बजेटमा १२६ वटा सौर्यबत्ती जडान गर्ने तयारी गरिएको छ । सार्यबत्तीका लागि तार झारिसएिको र अन्य सामानहरु आउने क्रममा रहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

हलेसीस्थित हेलिप्याडडाँडामा विव्ुत गृह निर्माण गरी आवश्यक ठाउँमा सौर्यबत्ती जडान गरिने जनाइएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

दर्शनार्थी तथा भक्तजनको दैनिक भीड लाग्ने हलेसीमा यसअघि सिसी क्यामेरा जडान गरिएको थियो । नगरपालिकाको करिब रु. सात लाख लगानीमा विभिन्न ११ ठाउँमा सिसी क्यामेरा जडान गरिएको हो ।

सिसी क्यामेरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्ने गरिएको छ । महादेवगुफा, पार्वतीथान, बसाहगुफा, प्रवेशद्धार तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटक समेत सजक भएका छन् ।

सिसी क्यामेरा जडान गरेपछि हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी लेखिएको वोर्डसमेत राखिएको छ । सिसी क्यामेरा जडानपछि जथाभावी फोहर फाल्ने, अभद्र व्यवहार गर्ने, भिडभाड गर्ने जस्ता क्रियाकलाप न्यूनिकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक तथा साँस्कृतिकरुपले विश्व प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रीमा पाँच दिन, बालाचतुरदशी तथा हरितालिका तीजमा तीन÷तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्ने गरेको छ ।

दर्शनार्थी तथा भक्तजनको बाक्लो भीड लाग्ने हलेसीमा पछिल्लो समय डिपबोरिङमार्फत खानेपानीको व्यवस्थासमेत मिलाइएको छ । प्राकृतिकरुपले समेत सौन्दर्य रहेको हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया