पूख्र्यौली पेशालाई प्रवद्र्धन गर्न हलेसीमा कपास खेती कार्यक्रम

Halesi Khabar
0 Shares

खोटाङ, २२ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कातिकेमा कपास खेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट शुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा रु दश लाख बजेट विनियोजन गरेर कपास खेती प्रवद्र्धन गर्न शुरु गरिएको नगरपालिकामा चालु आर्थिक वर्ष रु २० लाख बजेट विनियोजन भएको छ । नगरपालिकाबाट विनियोजन गरिएको बजेटबाट अहिले करिब ८० रोपनी जग्गामा कपास खेती विस्तार गरिएको छ ।

विनियोजित बजेटबाट वडा नं.–७ महादेवस्थानस्थित साविकको ६ र ९ नम्बर वडामा कपास खेती गरिएको छ । महादेवस्थानका करिब ६० घर परिवारले कपास खेती गरिरहेका महादेविस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले बताउनुभयो ।

शुरुमा कपास खेती गर्न नजान्दा रोग लागेर समस्या भएपनि अहिले सहज भएको स्थानीय गङ्गा राईले बताउनुभएको छ । कपास खेती गर्ने कृषकलाई नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको वडाध्यक्ष एवम् नगर प्रवक्ता गिरी बताउनुहुन्छ । “स्थानीयले जति कपास उत्पादन गरेपनि मन्दिरमा आवश्यक विभिन्न सामग्री निर्माणमा खपत हुन्छ”, उहाँले भन्नुभयो, “खाँडी कपडा बुन्न सकेमा झनै उनीहरुलाई फाइदा हुन्छ ।”

हलेसीका केही स्थानीय बासिन्दाले भने आफैले उत्पादन गरेको कपासबाट खाँडी कपडा बुनिरहेका छन् । “पहिले हाम्रो पालामा खाँडी कपडाको चलन थियो । पछिल्लो समय अन्य कपडा आएपछि सबैले भुले । फेरि अहिले नयाँ पुस्ताले यसलाई मन पराउन थालेका छन्”, लामो समयदेखि खाँडी कपडा बुन्दै आउनुभएकी ७९ वर्षीया जुनासरी राई भन्नुहुन्छ, “अहिले पनि धेरैले माग गर्छन् । तर, के गर्नु ! कान सुन्दिन । आँखा देख्न छाडेँ । पहिलेजस्तो कपडा बुन्न सक्दिन । त्यही पनि यसो दुःख गर्दै छु ।”

कोगटी र ढ्याङ्ग्रे खेती गरेर कपास निकालेपछि कपडा तयार पर्ने गरिएको छ । कपासबाट उत्पादन गरिएको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ ।

कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेपनि माग धान्न नसकिएको जुनासरी राईले बताउनुभएको छ । यसअघि हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको थियो ।

बाबुबाजेको पालासम्म हलेसीका विभिन्न क्षेत्रमा कपासको धागोबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएको थियो । स्थानीय कृषकले कपास खेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा खाँडी कपडा बुन्ने पेशा लोप हुँदै गएको थियो ।

त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत हुनेको गरेको थियो । पछिल्लो समय हलेसी आउने दर्शनार्थी तथा पर्यटकले खाँडी कपडा खोजे पनि उनीहरुलाई उपलब्ध गराउन नसकिएको उद्यमीहरुले बताउने गरेका छन् ।

कपास अभामा लोपोन्मुख बन्दै गएको खाँडी कपडा बुन्ने पेशालाई संरक्षण र प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व भएकाले बजेट विनियोजन गरिएको नगरप्रमुख बिमला राईले बताउनुभयो । “शुरुमा हामीले विभिन्न समूहमार्फत थोरै जग्गामा कपास खेती शुरु गरेका थियौँ । अहिले करिब ८० रोपनी जग्गामा विस्तार गरिएको छ”, उहाँले भन्नुभयो, “रोजगारको लागि धेरै मानिसहरु विदेश जाने गरेका छन् । तर, हाम्रो पूख्र्यौली पेशाबाट पनि हामीले जीविकोपार्जन गर्न सकिन्छ । त्यसैले कृषकलाई सोही पेशामा आत्मनिर्भर बनाउन कपास खेती कार्यक्रम शुरु गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा खाँडी कपडा उत्पादन तथा अल्लो प्रशोधनका लागि सबैजसो स्थानीय तहले लगानी गरिरहेका छन् । साकेला गाउँपालिकाले मात्तिममा अल्लो प्रशोधन केन्द्र स्थापनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया