खोटाङ, २६ मङ्सिर । खोटाङमा यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारमा लैजानेक्रममा बाटोमै मृत्यु भएको छ । को १ ज ३०२७ नम्बरको सुमो दिक्तेल–हुर्लुङ सडकखण्डको दिखुवाखोलामा दुर्घटना हुँदा गम्भीर घाइते बनेका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय रामकुमार खनालको धनकुटास्थित लेघुवाघाट नजिकै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते चालक खनालको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान पठाउनेक्रममा बाटैमा मृत्यु भएको प्रहरी बिट रत्नपार्क खोटाङका प्रमुख प्रहरी नायब निरीक्षक गोपी कटवालले जानकारी दिनुभयो । मृतक चालकको देब्रो खुट्टा र देब्रे हातमा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा चोट लागेको थियो ।
हुर्लुङतर्फबाट यात्रु लिन दिक्तेल आउने क्रममा आज (सोमबार) बिहान दुर्घटना भएको प्रहरी नायब निरीक्षक कटवालले बताउनुभयो । “दुर्घटनाग्रस्त सुमो सडकबाट करिब ५० मिटर तल खसेको छ”, उहाँले भन्नुभयो, “बेहोस अवस्थामा गाडीभित्रै फेला परेका चालक खनालको शरीरमा लागेको चोटहरुमा रगत बग्न छाडिसकेको थियो । कुन समयमा दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।”
स्थानीय दिएको जानकारीको आधारमा उद्धार गरिएका चालक खनाललाई दिक्तेलस्थित फेमिली अस्पताल भर्ना गरिएको थियो । फेमिली अस्पतालमा उपचार सम्भव नभएपछि घाइते चालक खनाललाई दिउँसो अस्पतालले रेफर गरेको हो ।
चालक निदाएको वा गाडीको अवस्था ठीक नभएको कारण दुर्घटना भएको हुनसक्ने प्रत्यक्षदशीले बताएका छन् । मृतक चालक खनालको शव परीक्षणको लागि जिल्ला अस्पताल धनकुटा लगिएको आफन्तले जनाएका छन् ।