खोटाङ,२९ मङ्सिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा-वडामै योजना सम्झौताको काम शुरु गरेको छ। चालु आर्थिक वर्षदेखि लागू हुने गरी पालिकाले गत २६ मंसिरबाट वडा-वडामै पुगेर योजना सम्झौता अभियान थालेको हो।
पालिकाबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको गाउँपालिकाका सूचना अधिकारी एवम् योजना शाखा प्रमुख पिएस्पी चाम्लिङले बताउनुभयो । गाउँपालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको वडाबाटै सम्झौता गरिएको छ । प्रमुख चाम्लिङले भन्नुभयोे, “योजना सम्झौताका लागि पालिकाबाट प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, योजना शाखाका प्रमुख चाम्लिङ, इञ्जिनियर मुकेशकुमार यादवसहित विभिन्न शाखामा कार्यरत कर्मचारीको टोलि वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच योजना सम्झौता गरिएको हो।”
चालु आर्थिक वर्षमा गाउँपालिकामा पालिकास्तरीय २६ र वडास्तरीय २८१ योजना तथा कार्यक्रम रहेको योजना शाखाका प्रमुख चाम्लिङले बताउनुभयो । सात वटा वडा रहेको पालिकामा पाँच वडामा योजना सम्झौता सम्पन्न भएको जनाइएको छ । पालिकाको वडा-५ स-छितापोखरीमा भने शुक्रबार वडामा योजना सम्झौता गरिने र वडा-६ छितापोखरीमा शनिबार योजना सम्झौता गरिने योजना शाखा प्रमुख एवम् गाउँपालिका सूचना अधिकारी चाम्लिङले जनाकारी दिनुभयो ।
वडामै गएर योजना सम्झौता गर्दा काम समयमै सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि पालिका सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने उद्देश्यले वडामै योजना सम्झौता गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकन्द्र राईले जानकारी दिनुभयो । उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सम्पन्न गरेर भुक्तानीका लागि मात्रै पालिकामा जान सकिने छ ।