राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध श्री माविका विद्यार्थीको बिदाई

Halesi Khabar
0 Shares

खोटाङ, ५ पुस । राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीलाई बिदाई गरिएको छ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङको राष्ट्रिय सेवा दल (एनसीसी) सि.सं. ४८ औँ ब्याचका ३६ जना विद्यार्थीलाई बिदाई गरिएको हो ।

एनसीसी तालिम प्राप्त विद्यार्थी सुनसरीको मोरङस्थित नेपाली सेनाको पूर्वी तालिम शिक्षालय याङ्सोलामा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्ने प्रधानाध्यापक जसराज किराँतीले जानकारी दिनुभयो । संरक्षण शिक्षक (गोपाल श्रेष्ठ)सहितको टोली याङ्सोलामा १६ दिनसम्म रहने जनाइएको छ ।

श्री मावि लफ्याङका १८÷१८ जना छात्रछात्रालाई नेपाली सेनाका जमदार अर्जुनकमार बस्नेत नेतृत्वको टोलीले तीन महिने तालिम दिएको थियो । बिदाई कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका फौजी कवाज तथा साँगीतिक नृत्य प्रस्तुत गरेका थिए ।

तीन महिने तालिममा कक्षा–८ की कविता श्रेष्ठ पहिलो, कक्षा–९ की सञ्जु राई दोस्रो तथा कक्षा–१० की कुमारी श्रेष्ठ तेस्रो हुनुभएको छ । तालिममा पहिलो, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई गोरखनाथ गणका गणपति प्रमुख सेनानी सुजन गुरुङले नगदसहित पुरस्कार प्रदान गर्नुभएको थियो ।

विद्यार्थीलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील बनाउन तालिम दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले बताउनुभयो । बिदाई कार्यक्रममा वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०२२ कातिक ७ गते स्थापना भएको सेवा दलले युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसँस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम दिइरहेको जनाइएको छ । युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ राष्ट्रिय सेवा दलद्धारा विद्यार्थीलाई तालिम दिन शुरु गरिएको प्रमुख सेनानी गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया