बाक्सिला बजारका आगलागी पीडितका लागि राहत सङ्कलन शुरु

Halesi Khabar
0 Shares

खोटाङ, ६ पुस । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ती गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवी लगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान शुरु गरिएको हो ।

बाक्सिला बजारमा मङ्गलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम सङ्कलन गरिएको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताउनुभयो । “सङ्कलन भएको रकमध्ये रु दुई हजार ८०० खाता खोल्न राखेर बाँकी रहेको रु चार लाख ५२ हजार २९५ रकम मङ्गलबार नै अग्नी पीडित परिवारलाई वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट पीडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही रु ५० हजार २५५ का दरले राहत रकम वितरण गरिएको हो ।”

उता, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले पनि अग्नीपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । रेडक्रसले घटनास्थल पुगेर छुट्टाछुट्टै एक÷एक थान त्रिपाल, दुई÷दुई थान कम्बल, एक÷एक थान म्याट्रेस, एक÷एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक÷एक थान साडी, सात÷सात मिटर प्रिन्ट कपडा, दुई÷दुई मिटर सादा कपडा, चार÷चार मिटर सट कपडा र एक÷एक सेट बकेट प्रदान गरेको हो ।

यस्तै, रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पीडित परिवारलाई एक÷एक थान सिरक प्रदान गरेको छ । रेडक्रसकातर्फबाट उपलब्ध गराइएका राहत सामग्री गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, गाउँपालिका उपप्रमुख गुरुराज राईले हस्तान्तरण गर्नुभएको हो ।

बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ एकद्धार प्रणालीमार्फत सहयोग सङ्कलन अभियान शुरु गरिएको छ । आगोले व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गुरुङको घरबाट शुरु भएको आगोले एकआपसमा जोडेर बनाइएका अन्य घर पनि जलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ढुङ्गामोटोले बनेको परम्परागत घरहरु रहेको बाक्सिला बजारमा विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने स्थानीय बासिन्दाको अनुमान छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार अहिले आफन्तकामा आश्रय लिएर बसिरहेका छन् ।

विस्थापित परिवारको तत्काल पुनः स्थापना गर्ने र आवश्यक राहत उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको छ । घटना लगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैबीच, १ नं. प्रदेश सरकारले बाक्सिला बजारका अग्नीपीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषदको बैठकले आगलागीबाट सर्बस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानून बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो ।

अग्नीपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको १ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले बताउनुभयो । बाक्सिला बजारमा भएको आगलागीमा भएको क्षतिको विवरण सङ्कलन गरेर सम्बन्धित ठाउँमा पठाइएको जिल्ला विपद व्यवस्थापन समिति खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया