खोटाङ, ७ पुस । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको सुनकोशीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण शुरु गरेको दश वर्षपछि बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “तराईसँग सिधा यातायात सम्पर्क नहुँदा जिल्लाको भौतिक विकासमा समेत असर परेको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि सुनकोशीस्थित फोक्सिङ्टारमा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै आवतजावतका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ । यसले जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत सहजता हुने अपेक्षा गरिएको छ । पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।
अस्थायी रुपमा जडान गरिने फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता थियो । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको हो ।
खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तरगत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षादको समयमा यातायात ठप्प हुने गरेको थियो । पुल अभावमा हरेक वर्ष करीब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको थियो ।
फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन वि.सं. २०७४ माघ–२ गते ठेकेदार कम्पनीलाई लिखितरुपमै पत्राचार गरेको थियो ।
फोक्सिङटारमा शुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाईनको पक्की पुल निर्माण गर्ने भन्दै वि.सं. २०७३ कातिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिङटारको भौगोलिक स्वरुप अप्ठ्यारो भएका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको हो ।
फोक्सिङ्टार पुल निर्माण शुरु गरेको दश वर्षपछि सम्पन्न हुने छाँट (सम्भावना) देखिएसँगै गत निर्वाचनमा जिल्लास्थित राजनीतिक दलका नेताहरुको जस लिने माध्यम बनेको छ । गत मङ्सिर–४ गते देशभर एकैसाथ भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होटबाजीमा नेताहरु लागेका थिए ।
फोक्सिङ्टारमा पक्की पुल निर्माणको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ‘पासाङ’ र समिता कार्की ‘अस्मिता’को पालामा आर्थिक वर्ष २०६७÷६८ मा परेको हो । योजना जसको पहलमा परेपनि फोक्सिङटार पुल सञ्चालनमा आएपछि भने, जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज भएको छ ।
यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै फिनिसिङ (रङरोगन तथा वाइरिङ)को काम सम्पन्न नहुँदै निर्माणाधीन फोक्सिङ्टार पुलमा यातायात सञ्चालन गरिएको निर्माण व्यवसायी रामकुमार थापाले बताउनुभयो । “निर्माणाधीन फेक्सिङ्टार पुलमा अहिले रङरोगन र वाइरिङ गर्ने काम तीव्रगतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “हप्ता दिनभित्र सबै काम सम्पन्न गरेर औपचारिकरुपमा उद्घाटन गर्ने तयारीमा लागेका छौँ ।”
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको १२० मिटर लामो छ । फोक्सिङ्टार पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको हो ।
यता, कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक अलपत्र अवस्थामा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त महुरे–फोक्सिङटार सडक कालोपत्र ठेकेदार कम्पनीको चरम लापरबाहीले अलपत्र परेको हो ।
मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । दुवै सडक ठेकेदारको लापरबाहीले कालोपत्रको काम नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रुहरु समस्यामा पर्ने गरेका छन् ।