खोटाङ, ९ पुस । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आज (शनिबार) आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैयाँ श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर शुरु भएको आगलागीबाट मैयाँ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।
दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाडाकुडा, अन्नपात लगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिनुभयो ।
प्रनाउ मुकारुङका अनुसार मैयाँको तीनतले घर, नगद रु एक लाख, चाँदी २० तोला, मोबाइल, टिभी लगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २७ लाख ४५ हजार बराबरको क्षति भएको छ । यस्तै, कृष्णको तीनतले घर, नगद रु एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइल लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख ८३ हजार बराबरको क्षति भएको छ ।
यसैगरी, कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख २८ हजार बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकामा आश्रय लिएर बरिहेका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो ।
यसअघि यही पुस–४ गते सोमबार केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको थियो । स्थानीय दीपक गुरुङको घरबाट शुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।
आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो भने, उक्त आगलागी नियन्त्रणमा लिनेक्रममा स्थानीय अकबर राईको घर भत्काइएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत सङ्कलन गर्ने काम भइरहेको छ ।