बस दुर्घटनामा गर्भवतीसहित छ जना घाइते, तीनजनाको हेलिकोप्टरबाट उद्धार

Halesi Khabar
0 Shares

खोटाङ, १० पुस । उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा गर्भवतीसहित छजना यात्रु गम्भीर घाइते भएका छन् । बुइपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकी भन्दामुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी १६ वर्षीया गर्भवती रेनुका भुजेलसहित छ जना यात्रु घाइते भएका हुन् ।

बत्तीस जना यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेहरुमा बुइपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुङ्गाना रहेका छन् । घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बाँया तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ । गम्भीर अवस्थाका वीरेन्द्र, गर्भवती रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्याल खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभएको छ ।

सामान्य अवस्था रहेका अन्य घाइतेहरुको स्वास्थ्यचौकी बुइपामा प्राथमिक उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । दुर्घटना लगत्तै बसका चालक र सहचालक फरार भएका सोही बसका यात्रुहरुले बताएका छन् ।

सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुहरुले बताएका छन् । सहचालकले सडकमा बाङ्गोटिङ्गो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले बताउनुभएको छ ।

सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरुले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया