दिक्तेल शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्षमा जोशी विजयी

Halesi Khabar
0 Shares

खोटाङ, १० पुस । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति खोटाङका अध्यक्षमा नवराज जोशी विजयी हुनुभएको छ । समितिको तेस्रो वार्षिक साधारणसभाले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि आज (आइतबार) भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ ‘भाने’लाई १७४ मतले पछि पार्दै जोशी अध्यक्षमा विजयी हुनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष जोशीले ३५७ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार भानेले १८३ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ । नवनिर्वाचित अध्यक्ष जोशी उक्त खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निवर्तमान सचिव हुनुहुन्छ भने, पराजित भाने निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

गत मङ्सिर–२६ गते औपचारिकरुपमा उद्घाटन गरिएको दोस्रो वार्षिक साधारणसभाले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्य निर्विरोध चयन गरेको थियो । निर्विरोध चयन हुनेमा निर्मला थापा (आचार्य) उपाध्यक्ष, उत्सव सैँजू सचिव, रत्नबहादुर खत्री कोषाध्यक्ष तथा सदस्यहरु देवी राई, अकेला राई र राम बजगाईँ हुनुहुन्छ ।

पटक–पटक आयोजना गरिएको बन्दसत्रमा अध्यक्षसहित दुई खुला सदस्यमा सहमति नजुटेपछि निर्वाचन गरिएको थियो । दुई सदस्यका लागि पाँच उम्मेदवार रहेको निर्वाचनमा डम्बरबहादुर कार्की र रोहितकुमार सैँजू विजयी हुनुभएको छ ।

निर्वाचनमा किसन राईले १९२, गोकुल आचार्यले १७० र दधीराम श्रेष्ठले १५६ मत प्राप्त गर्नुभएको निवर्तमान अध्यक्ष धनकुमार जोशीले जानकारी दिनुभयो । ९७७ मतदाता रहेको उक्त उपभोक्ता समितिको निर्वाचनमा ५६७ मत खसेको जनाइएको छ ।

छुट्टाछुट्टै समितिमार्फत सञ्चालन हुँदै आएको दिक्तेल बजारको खानेपानी आयोजनालाई एकीकृत गरेपछि भएको तेस्रो वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयनका लागि सर्वसहमति नभएपछि निर्वाचन गरिएको जनाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित उक्त खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा निर्वाचन भएको यो पहिलो घटना हो ।

रम्बाखोला–माझखोला साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत (वि.सं. २०७८)देखि सञ्चालनमा ल्याइएको हो ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं.–२ सोल्मा र वडा नं.–३ बाम्राङका गरी एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतगरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

करिब वर्षदिनअघि सञ्चालनमा ल्याइएको शहरी खानेपानी तथा सरसफाइ आयोजना विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ । दिक्तेल बजारको ढलान गरिएको सडकमुनि बिच्छ्याइएको खानेपानीको पाइपमा ठेकेदारको लापरबाहीका कारण समस्या देखिएपछि ढलान काटेर मर्मत गर्दा विभिन्न ठाउँमा पारिएको खाल्डाखुल्डीले सवारी साधन तथा पैदल यात्रुलाईसमेत आवतजावतमा समस्या हुँदै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया