खोटाङ, १५ पुस । लेखा समूह खोटाङका अध्यक्षमा मोहनकुमार भट्टराई चयन हुनुभएको छ । वनभोज सँगै शुक्रबार सम्पन्न लेखा समूहको साधारणसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समूहको उपाध्यक्षमा पुष्कर आचार्य, सचिवमा उत्तम आचार्य, सहसचिवमा पङ्कज आचार्य र कोषाध्यक्ष सविना मगर चयन हुनुभएको छ । सदस्यमा गणेशबहादुर खड्का, जीवन फुयाँल, राजकुमार खत्री, लालबहादुर राई, प्रेमकुमार राई र सिर्जना लुईटेल चयन हुनुभएको जनाइएको छ ।
साधारणसभाले राजकुमार राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको सहसचिव आचार्यले जानकारी दिनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा खटिएका लेखा समूहका कर्मचारीहरुबीच पेशागत हकहित, व्यवसायिक दक्षता विकास, वित्तीय अनुशासन कायम लगायतका उद्देश्यसहित लेखा समूहको नेतृत्व चयन गरिएको जनाइएको छ ।
लेखा समूहको संरक्षकमा कोष नियन्त्रक मानबहादुर मगरलाई चयन गरिएको जनाइएको छ । नवगठित समूहको बैठक बसेर नीति तथा कार्यक्रम तय गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।